उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटमा रहेको हेटौँडा सिमेन्ट उद्योगको स्थलगत निरीक्षण गरिन्। कुनै बेला बन्द हुने, कुनै बेला सञ्चालन हुने नियति भोगिरहेको उद्योगको अवस्था बुझ्न मन्त्री यादवले व्यवस्थापन र कर्मचारीसँग छलफल गरिन्।
निरीक्षणपछि मन्त्री यादवले सरकारी स्वामित्वको उद्योग बन्द हुनु दुःखद रहेको बताइन्। सरकार बन्द उद्योग सञ्चालन गर्ने तयारीमा छ। ‘हेटौँडा सिमेन्ट उद्योग नियमित कसरी सञ्चालन गर्न सकिन्छ, अध्ययन गरिरहेका छौँ,’ मन्त्री यादवले भनिन्, ‘निजी उद्योग चल्ने तर सरकारी बन्द हुनु दुःखद हो।’
सरकारले हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको छ। छिट्टै समस्या समाधान गरी सञ्चालनको वातावरण बनाइनेछ। ‘उद्योग बन्द हुँदा रोजगारी गुम्छ, अर्थतन्त्रमा असर पर्छ,’ मन्त्री यादवले भनिन्, ‘सरकार जसरी पनि उद्योग सञ्चालन गर्न चाहन्छ, यसमा सबैको सहयोग आवश्यक छ।’
सरकार एक्लैले उद्योग चलाउन नसक्ने भएकाले व्यवस्थापन र कर्मचारीको सहयोग पनि उत्तिकै आवश्यक छ। बन्द अवस्थाको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न सरकार प्रतिबद्ध छ।
हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले मेसिन पुरानो र जीर्ण भएकाले बिग्रिरहने बताए। कच्चा पदार्थको आपूर्ति नहुँदा उद्योग बन्द भएको जानकारी दिए। पछिल्लो समय कच्चा पदार्थको अभावले उद्योग बन्द गर्नुपरेको उनले बताए।
निमित्त महाप्रबन्धक साहले ११ महिनादेखि कर्मचारीलाई तलब भत्ता दिन नसकिएको बताए। कच्चा पदार्थ आपूर्तिकर्ताको बक्यौता र बिजुली महसुल भुक्तानी गर्न नसकिएको समस्या अवगत गराए। तत्काल आर्थिक समस्या समाधान भए उद्योग नियमित चल्ने उनको भनाइ छ।
विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। उपकरण पुरानो भइसकेकाले राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरू बताउँछन्।
