अफगानिस्तानको गोर प्रान्तमा अब्दुल रशीद अजीमी आफ्ना सात वर्षीया जुम्ल्याहा छोरीहरू रोकिया र रोहिलालाई बेच्न तयार छन्, चरम भोकमरीले परिवार पाल्न नसकेपछि। गोर प्रान्तको राजधानी चघचरानको धूलाम्मे चौकमा बिहानै सयौं पुरुषहरू कामको खोजीमा लामबद्ध उभिन्छन्। उनीहरूको परिवारले त्यस दिन खाना पाउने कि नपाउने भन्ने यही भीडले निर्धारण गर्छ।
४५ वर्षीय जुमा खानले पछिल्ला छ सातामा तीन दिन मात्र काम पाए। उनको दैनिक पारिश्रमिक १५० देखि २०० अफगानी (२.३५ देखि ३.१३ डलर) थियो। उनी भन्छन्, ‘मेरा छोराछोरी लगातार तीन रात भोकै सुते। मेरी श्रीमती रोइरहेकी थिइन्, बच्चाहरू पनि रोइरहेका थिए। त्यसैले मैले छिमेकीसँग पिठो किन्न पैसा सापटी माग्नुपर्यो।’
संयुक्त राष्ट्रका अनुसार, अफगानिस्तानमा प्रत्येक चारमध्ये तीन जनाले आधारभूत आवश्यकता पूरा गर्न सकेका छैनन्। बेरोजगारी व्यापक छ, स्वास्थ्य सेवा प्रणाली धराशायी बनेको छ र सहायता अत्यन्त सीमित छ। अफगानिस्तानमा भोकमरीले करिब ४७ लाख मानिस अकाल खाद्यान्न अभावको संघारमा छन्। गोर प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक हो।
स्थानीय रबानी रुँदै भन्छन्, ‘मलाई फोन आयो कि मेरा बच्चाहरूले दुई दिनदेखि केही खाएका छैनन्। मलाई लाग्यो मैले आफूलाई नै मारिदिउँ। तर त्यसले मेरो परिवारलाई के फाइदा गर्ला? त्यसैले म यहाँ कामको खोजीमा उभिएको छु।’ ख्वाजा अहमद भक्कानिँदै भन्छन्, ‘हामी भोकले तड्पिरहेका छौं। मेरा केही बच्चाहरू मरिसके। त्यसैले परिवार पाल्न काम गर्नुपर्छ। तर म बूढो भएँ, कसैले काम दिन चाहँदैन।’
स्थानीय बेकरी खुल्नेबित्तिकै बासी रोटी बाँड्न थाल्दा मानिसहरू झगडा गर्न थाल्छन्। एक व्यक्तिलाई इँटा बोक्ने मजदुर चाहिएकोमा दर्जनौं मानिस दौडिए। त्यसमध्ये केवल तीन जनाले मात्रै काम पाए।
अब्दुल रशीद अजीमी आफ्ना सात वर्षीया जुम्ल्याहा छोरीहरू रोकिया र रोहिलालाई काखमा कस्सिएर समात्छन्। रुँदै उनी भन्छन्, “म आफ्ना छोरीहरू बेच्न तयार छु। म गरिब छु, ऋणमा डुबेको छु र असहाय छु।” ‘कामबाट घर फर्कँदा मेरा ओठ सुकिसकेका हुन्छन्। म भोकै, तिर्खै, चिन्तित र अन्योलमा हुन्छु। मेरा बच्चाहरू आएर भन्छन्, ‘बाबा, हामीलाई रोटी देऊ।’ तर म के दिऊँ? काम कहाँ छ?’
अब्दुल आफ्ना छोरीहरूलाई विवाह वा घरायसी कामका लागि बेच्न तयार छन्। उनी रोहिलालाई अँगालो हालेर चुम्छन् र भन्छन्, ‘यसले मेरो मुटु टुक्रिन्छ, तर मसँग अर्को बाटो छैन।’ उनीहरूको आमा कायहान भन्छिन्, ‘हामीसँग खाने भनेको रोटी र तातो पानी मात्रै छ, चिया पनि छैन।’
छोराभन्दा छोरी बेच्ने निर्णय सांस्कृतिक मान्यताले निर्देशित छ। छोराहरूलाई भविष्यका कमाउने सदस्यका रूपमा हेरिन्छ। अफगानिस्तानमा महिला र किशोरीहरूको शिक्षा तथा रोजगारीमा तालिबान सरकारले लगाएको प्रतिबन्धले यो सोचलाई अझ गहिरो बनाएको छ। विवाहमा केटापक्षले केटीपक्षलाई उपहार दिने परम्पराले पनि यो प्रवृत्तिलाई बढाएको छ।
सईद अहमद भन्छन्, ‘मेरी पाँच वर्षीया छोरी शाइकालाई एपेन्डिसाइटिस र कलेजोमा सिस्ट भएपछि उनलाई छोरी बेच्न बाध्य हुनुपर्यो।’ उपचार खर्च तिर्न पैसा नभएपछि उनले छोरी एक जना आफन्तलाई बेचे। शाइकाको शल्यक्रिया सफल भयो। त्यसका लागि २ लाख अफगानी (३,२०० डलर) खर्च भयो, जुन छोरी बेचेर आएको रकम थियो।
केही वर्षअघिसम्म सईदले खाद्य सहायता पाइरहेका थिए। यसमा पिठो, खाने तेल, दाल र बालबालिकाका लागि पोषण सामग्री समावेश थियो। तर पछिल्ला वर्षहरूमा सहायता रकममा ठूलो कटौती भएपछि लाखौं मानिस जीवनरक्षक सहायताबाट वञ्चित भएका छन्। संयुक्त राज्य अमेरिकाले गत वर्ष लगभग सम्पूर्ण सहायता बन्द गर्यो। बेलायतसहित अन्य धेरै दाताहरूले पनि आफ्नो योगदानमा ठूलो कटौती गरेका छन्। संयुक्त राष्ट्रका तथ्यांकअनुसार यस वर्ष प्राप्त सहायता २०२५ को तुलनामा ७० प्रतिशत कम छ। देशका आधाभन्दा बढी प्रान्तमा परेको भीषण खडेरीले अवस्था झन् खराब बनाएको छ।
तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फित्रतले बीबीसीसँग भने, ‘२० वर्षको आक्रमण अवधिमा अमेरिकी डलरको प्रवाहका कारण कृत्रिम अर्थतन्त्र निर्माण गरिएको थियो। आक्रमण समाप्त भएपछि हामीले गरिबी, कठिनाइ, बेरोजगारी र अन्य समस्या विरासतमा पायौं।’ तर दाता राष्ट्रहरूले सहयोग घटाउनुको मुख्य कारण तालिबानका आफ्नै नीतिहरू, विशेष गरी महिलामाथि लगाइएका प्रतिबन्धहरू पनि हुन्।
