झापाकी ५५ वर्षीया हस्तिमाया लिम्बू ओमनमा घरेलु कामदार थिइन्। अत्यधिक काम र अस्वास्थ्यकर खानपानले २०७३ सालमा उनका दुवै मिर्गौलाले काम गर्न छाडे। चार दिन डायलासिसपछि नेपाल फर्किंदा कोरोना महामारीले अवस्था झनै जटिल बनायो। बहिनीले मिर्गौला दिन तयार भए पनि पित्तथैलीको शल्यक्रियाले प्रत्यारोपण ढिला भयो। चैत २०८० मा मिर्गौला प्रत्यारोपण सफल भए पनि हालसम्म ६० लाखभन्दा बढी खर्च भइसकेको छ। महिनाको १५ हजार औषधिमा मात्रै लाग्ने उनको दुःखेसो छ।
काभ्रेका ५२ वर्षीय रामबहादुर तामाङ काठमाडौंमा भारी बोक्थे। एक्लै डेरामा बस्दा बजारको चिल्लो, तारेको र जंकफुड खाने बानीले उनको स्वास्थ्य बिग्रियो। चिकित्सकले मिर्गौला फेल भएको बताएपछि केही वर्ष डायलासिसमै बिताए। दुई वर्षअघि छोराले मिर्गौला दान गरेपछि प्रत्यारोपण सफल भयो। सरकारले मिर्गौला प्रत्यारोपणका लागि ५ लाख रुपैयाँ सहयोग गर्यो। तर औषधि, परीक्षण र अन्य खर्च धान्न नसकेर उनले घरजग्गा बेच्नुपर्यो।
नसर्ने रोगको भयावह तथ्यांक
जनस्वास्थ्यविद् डा. केदार बरालका अनुसार रहनसहन र जीवनशैलीमा आएका परिवर्तनले नसर्ने रोगको संख्या बढाइरहेको छ। नेपालमा मृत्युको कारण बनेका प्रमुख १० रोगमध्ये ८ वटा नसर्ने रोग छन्। ‘बर्डेन अफ डिजिज’को पछिल्लो तथ्यांक अनुसार नसर्ने रोगले वार्षिक १ लाख ९३ हजार ३३१ जनाको मृत्यु हुन्छ। यो कुल मृत्युको करिब ७१ प्रतिशत हो।
मुटु तथा रक्तनली सम्बन्धी रोगले वार्षिक ४६ हजार ३९९ नेपालीको मृत्यु हुन्छ। यसपछि दीर्घ श्वास–प्रश्वास रोगले ४० हजार ७९२, क्यान्सरले २१ हजार ६५३, फोक्सो संक्रमण र क्षयरोगले १६ हजार २३९, पाचन प्रणाली सम्बन्धी रोगले ११ हजार ४०६, मातृ तथा शिशु समस्याले १० हजार ५३, मधुमेह तथा मिर्गौला रोगले ८ हजार ५०३, दुर्घटनाले ८ हजार ११९, आन्द्रा संक्रमणले ६ हजार ९५९ र मानसिक समस्याले ४ हजार ४४६ जनाको ज्यान लिन्छ।
जीवनशैली र खानपान मुख्य कारण
विज्ञहरू नसर्ने रोगको मुख्य कारण बदलिँदो खानपान र आधुनिक जीवनशैलीलाई मान्छन्। चिकित्सा समाजशास्त्री प्रा.डा मधुसूदन सुवेदीका अनुसार शारीरिक निष्क्रियता, व्यायामको कमी र बढ्दो मोटोपनले नसर्ने रोगलाई बढावा दिइरहेको छ। पहिले दैनिक शारीरिक श्रम हुने गरेकोमा अहिले मोटरसाइकल र स्कुटर बिना काम नचल्ने अवस्था छ।
त्यस्तै, बजारमा पाइने चिल्लोयुक्त, प्रशोधित तथा ‘फास्ट फुड’को अत्यधिक प्रयोगले मुटु, मधुमेह, क्यान्सर जस्ता समस्या बढाएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार बजारमा पाइने धेरैजसो खानेकुरामा चिल्लो पदार्थको मात्रा अत्यधिक हुन्छ। तेलमा तारेका तथा फ्रोजन परिकारहरूमा प्रयोग हुने प्रिजर्भेटिभ र ट्रान्सफ्याटले शरीरमा कोलेस्ट्रोल बढाउँछ। यसले उच्च रक्तचाप, मधुमेह र मोटोपन जस्ता समस्या निम्त्याउँछ। यसले मुटु, मिर्गौला र मस्तिष्क सम्बन्धी रोगको जोखिम बढाउँछ। बिस्कुट, कुकिज, समोसा, चिप्स, केक, पिज्जा, मोमो जस्ता परिकार दैनिक खानाको हिस्सा बन्दा मुटु र रक्तनलीलाई क्षति पुग्छ।
उपचार खर्चको भार दोब्बर
नसर्ने रोगले बिरामीको भार तीव्र बढिरहेको सरकारी तथ्यांकले देखाउँछ। विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत आ.व २०७७/७८ मा २९ हजार ४९८ जनाले सेवा लिएका थिए। २०८१/८२ मा यो संख्या बढेर ५३ हजार ५७७ पुगेको छ। यस अवधिमा उपचारको खर्च भार पनि दोब्बरले बढेर २ अर्ब १४ करोडबाट ४ अर्ब ४२ करोड पुगेको छ। हाल स्वास्थ्य बीमा बोर्डमार्फत नसर्ने रोगका बिरामीले सेवा लिने दर पनि बढ्दो छ। बीमाबाट सेवा लिने धेरै बिरामी उच्च रक्तचाप, मधुमेह र क्यान्सर जस्ता नसर्ने रोगका छन्।
