प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा विवादबारे दिएको अभिव्यक्तिले नयाँ तरंग सिर्जना गरेको छ। यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रमा देखिएका प्राविधिक तथा प्रशासनिक चुनौती समाधान गर्न दुवै देशका प्राविधिक संयन्त्रहरू सक्रिय रूपमा कार्यरत रहेको स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार सीमास्तम्भहरूको मर्मत, दशगजा क्षेत्रको अतिक्रमणको पहिचान र सीमा वारपार जग्गा उपयोग सम्बन्धी तथ्य संकलन गर्ने काम संयुक्त रूपमा अघि बढाइएको छ। लामो समयदेखि अवरुद्ध रहेका प्राविधिक कार्यहरू हाल पुनः तीव्र गतिमा अघि बढिरहेको मन्त्रालयले जनाएको छ।
नेपाल–भारतबीचको सीमा व्यवस्थापन ऐतिहासिक सन्धि–सम्झौता र नक्साका आधारमा गरिँदै आएको उल्लेख गर्दै मन्त्रालयले सुगौली सन्धि अनुसार सीमारेखा निर्धारित भए पनि केही स्थानमा नक्साङ्कन तथा स्पष्ट सीमांकन बाँकी रहेको स्पष्ट पारेको छ।
सीमावर्ती क्षेत्रका केही स्थानमा एक देशको उपयोगमा रहेको जमिन अर्को देशको भूभागमा पर्ने अवस्था देखिएको प्रारम्भिक अध्ययनले संकेत गरेको छ। यस विषयमा दुवै देशका प्राविधिक टोलीहरूले संयुक्त रूपमा विस्तृत अध्ययन र अभिलेख संकलन गरिरहेका छन्।
प्रधानमन्त्री शाहले संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने दाबी गरेका थिए। उनले नेपालले पनि केही भारतीय भूभाग अतिक्रमण गरेको जानकारी प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेपछि मात्र थाहा पाएको बताएका थिए।
भारतीय मिडियाहरूले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्। ‘नवभारत टाइम्स’, ‘दि प्रिन्ट’, ‘न्यूज १८’ र ‘दैनिक भाष्कर’ जस्ता अखबारहरूले नेपालले भारत र चीनसँग सीमा विवादबारे छलफल गरेको र नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको विषयलाई उजागर गरेका छन्। ‘दैनिक भाष्कर’ले उत्तराखण्ड, बिहार, उत्तर प्रदेशका विभिन्न जिल्लामा नेपालले करिब १२.४ देखि ७१०० एकड भूमि अतिक्रमण गरेको दाबी गरेको छ।
यसैगरी ‘अमर उजाला’ले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालमा राजनीतिक र कूटनीतिक हलचल भएको उल्लेख गर्दै दुवै देशले तथ्यको अध्ययन गरी शान्तिपूर्ण तरिकाबाट सीमा विवाद सुल्झाउनुपर्नेमा जोड दिएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले सीमा सम्बन्धी सबै विषयहरू कूटनीतिक माध्यम र आपसी समझदारीमार्फत समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको दोहोर्याएको छ।
