राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं पूर्वगृहमन्त्री सुदन गुरुङले गोरखाका जनताले आफूलाई काम गर्न जिताएको बताएका छन्। उनले आफूलाई फोटो खिच्नका लागि नभई जनताको सेवा र विकासका लागि चुनिएको स्पष्ट पारे।
गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सांसदसमेत रहेका गुरुङले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताए। उनले निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धताहरू पूरा गर्ने दृढता व्यक्त गरे।
उनले राजनीतिमा प्रतिपक्ष दलहरूले विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए। ‘राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘विरोधका लागि विरोध गरेर मात्र हुँदैन।’ देश निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले रास्वपा देश बनाउन आएको पार्टी भएको उल्लेख गरे।
पूर्वगृहमन्त्री गुरुङले निर्वाचन क्षेत्रका जनताका समस्याहरू समाधान गर्न छिट्टै सचिवालय स्थापना गरी काम गर्ने जानकारी दिए। जिल्लामा बजेट विनियोजन नभएको गुनासो आफूकहाँ पटकपटक आएको भन्दै उनले आफ्नो क्षमता र स्रोतको पहिचान गरेर काम गर्ने बताए।
