पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड १ लाख बजेट विनियोजन गरेको छ। यो योजना मन्त्रालयले हालसालै सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा समावेश छ।
सर्वाधिक बजेट निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड रुपैयाँ विनियोजन भएको छ। ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ।
सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार रुपैयाँ छुट्याइएको छ।
अन्य प्रस्तावित सुरुङमार्गहरूको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन छ। सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्मको सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार, दोलालघाट चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार, हात्तीसार बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार, खुर्कोट चियाबारी सुरुङमार्गका लागि तीन लाख ९२ हजार, शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि तीन लाख ९२ हजार र रानीघाट भुरीगाउँ सुरुङमार्गका लागि तीन लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
