NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कांग्रेस इतर पक्षको कोशी भेला: थापा नेतृत्वमाथि देउवा-कोइराला-सिटौलाको प्रश्न

विराटनगरमा नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय भेलाले पार्टी नेतृत्वविरुद्ध शक्ति प्रदर्शन गरेको छ। शेरबहादुर देउवा, शेखर कोइराला र कृष्ण सिटौला समूहका नेताहरूले सभापति गगन थापाको कार्यशैली र क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामाथि कडा आलोचना गरेका छन्।
Kamala Devi
Kamala Devi
13 June 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
कांग्रेस इतर पक्ष भेला
Share:

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेशमा पार्टी सभापति गगन थापाविरुद्ध देउवा, कोइराला र सिटौला समूह एक भएका छन्। तीन समूहले विराटनगरमा आइतबार भेला आयोजना गरी नेतृत्वको कार्यशैली र क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामाथि प्रश्न उठाएका हुन्।

भेलाको तयारीबारे शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेताहरूले पार्टीको वर्तमान नेतृत्व, कार्यशैली र सदस्यता नवीकरण प्रक्रियाप्रति असन्तुष्टि पोखे। ‘वृहत् एकता, साझा प्रतिबद्धता’ नारासहितको भेलाको तयारीबारे जानकारी दिँदै कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई र पूर्वमुख्यमन्त्री केदार कार्कीले थापा नेतृत्वको आलोचना गरे।

पत्रकार सम्मेलनमा नेताहरूले पार्टीभित्र चरम गुटबन्दी, मानवताको अभाव र विधि–विधान विपरीत गतिविधि भइरहेको भन्दै विरोध जनाए। कांग्रेस कोशी प्रदेश समितिको ब्यानरमा विराटनगरको मनास्लु होटलमा हुने भेलाको नारा ‘वृहत् एकता, साझा प्रतिबद्धता, हाम्रो भविष्यको सुनिश्चितता र ‘तपाईको उपस्थिति – कांग्रेसको शक्ति !’ राखिएको छ। भेलाका प्रमुख अतिथि डा. शेखर कोइराला रहनेछन्। कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बल बहादुर केसी, एन.पी. साउद, राजीव कोइरालालगायत केन्द्रीय नेताले सम्बोधन गर्नेछन्।

भेलामा कोशी प्रदेशका १४ वटै जिल्ला, पालिका तथा वडा तहका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि र कार्यकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ। महामन्त्री भूपेन्द्र राईले पार्टीको पुरानो छवि र चरित्र हराउँदै गएकोमा चिन्ता व्यक्त गरे।

‘तत्कालीन सभापति शेरबहादुर देउवामाथि ठुलो हमला भयो, तर पार्टीभित्र विज्ञप्ति पनि आएन,’ राईले भने। ‘बिपी कोइरालाले जेल जीवन बिताउँदा हाम्रा नेताहरू भेट्न जान्थे। अहिलेको नेतृत्वले बिपीलाई भेट्न जान्छन् जस्तो लाग्दैन।’ उनले पूर्व गृहमन्त्री रमेश लेखकलाई मुद्दा चलाउँदा पनि शीर्ष नेतृत्वले भेट्न नगएको स्मरण गराए। ‘कांग्रेसको चरित्र हरायो। हामी कांग्रेसको चरित्र निर्माण गर्न चाहन्छौँ, पुरानो छवि कायम गराउन चाहन्छौँ र कांग्रेसभित्र मानवता पलाओस् भन्ने चाहन्छौँ,’ राईले भने।

महामन्त्री राईले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई पार्टी कब्जा गर्ने रणनीति भएको आरोप लगाए। ‘अद्यावधिक वर्षैभरि गरिरहने कुरा हो। पार्टी कब्जा गर्ने आशङ्का छ। त्यसकारण दबाब दिनुपर्‍यो। पार्टी बृहत् रूपमा एकता हुनुपर्छ भन्न यो आयोजना गरिएको हो,’ उनले भने। राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने र कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउनेहरू नै सदस्यता अद्यावधिक गर्न हतारिएको उनको आरोप छ। ‘हिजो कांग्रेसविरुद्ध लाग्ने साथीभाइहरूले छिटो अद्यावधिक गरे। हामीलाई विश्वास छ, रुखमा भोट हालेको मान्छेलाई कांग्रेस कसैले लैजान सक्दैन। तर हिजो बिगार्नुभएकाहरूलाई हतारो छ,’ राईले भने।

पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी नेतृत्वको बौद्धिक क्षमता र सांगठनिक बुझाइमाथि प्रश्न उठाए। विशेष महाधिवेशनको मागबाट पछि हटेको भन्ने चर्चाको खण्डन गर्दै उनी पार्टीको विधि र ट्र्याकमा रहेको दाबी गरे। ‘हामीले विशेष महाधिवेशनअघि नियमित महाधिवेशन हुनुपर्छ भन्यौं। हुन नसके विशेष महाधिवेशन गरेर फ्रेस लिडरसिप लिएर निर्वाचनमा जानुपर्छ भन्ने अभियान थियो,’ कार्कीले भने।

कार्कीले नेतृत्वले अद्यावधिक शब्दको गलत व्याख्या गरी कार्यकर्ता अलमल्याएको आरोप लगाए। ‘अद्यावधिक भनेको पुनः नवीकरण होइन। केन्द्रीय समितिका मान्छेहरू किताब पढे तर अर्थ बुझेनन्। यिनीहरूसँग बस्नु हुँदैन, दण्डित गर्नुपर्छ,’ उनले भने। ‘अद्यावधिक होइन, पुनः नवीकरण भन्नुपर्‍यो। लहड र आवेशमा पार्टी चलाउने हुँदैन।’

कार्कीले सभापति गगन थापा लक्षित प्रहार गर्दै नेतृत्वले पार्टीलाई गुटको घेरामा राखेको आरोप लगाए। ‘हामीले छानेको नेतृत्व बरालिन लाग्यो, अल्लारे बन्यो। पार्टीको बोझ लिन सकेन। ५४ प्रतिशतको मात्रै नेता हुन्छु भन्छ। हामीले त शतप्रतिशतको सभापति छान्न खोजेको हो,’ कार्कीले भने। ‘क्रियाशील सदस्यता अद्यावधिकको नाममा पार्टी कब्जा गर्न खोजिएको छ। यो पार्टीलाई हित गर्दैन। हामी कांग्रेसका सच्चा कार्यकर्ता हौँ। हिजो बागी उम्मेदवार उठेकाहरूले पनि आज अद्यावधिक गरिसकेका छन्। हिजो मतदान नगर्नेहरू चाहिँ अत्तालिँदैछन्।’

कांग्रेसको इतर पक्षले विराटनगरमा गरेको यो कार्यक्रम केन्द्रीय राजनीतिकै प्रतिविम्ब भएको नेताहरू बताउँछन्। डा. शेखर कोइराला पक्षले कोशी प्रदेशलाई आफ्नो बलियो गढ मान्छ। सभापति थापा पक्ष यहाँ प्रभाव विस्तार गर्न खोजिरहेको छ। क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक विषयमा दुई पक्षबीच लामो समयदेखि विवाद छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार