नेकपा एमाले मधेश प्रदेश कमिटीले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरूलाई लक्षित गरी बजेट निर्माण तथा कार्यान्वयनसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
बर्दिवासमा आयोजित उक्त कार्यक्रममा हालसम्म भएका कामको समीक्षा गर्दै आगामी बजेट कसरी निर्माण गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिए।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्थानीय विकास विभाग प्रमुख राजेन्द्र गौतम, विज्ञ गणेश तिमल्सिना र नवराज गेलालले प्रशिक्षण दिएका थिए।
प्रशिक्षण सत्रमा बोल्दै राजेन्द्र गौतमले स्थानीय तहको योजना तथा बजेट जनताको भावना बुझ्ने, जनमैत्री र आधारभूत जनजीवनलाई रूपान्तरण गर्ने खालको हुनुपर्नेमा जोड दिए। उनले जनप्रतिनिधिलाई आफ्नो चार वर्षे कार्यकालको समीक्षा गरी भावी योजना र बजेट निर्माण गर्न आग्रह गरे।
यस्तै, मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले स्थानीय पार्टी कमिटीहरूसँगको सहकार्यमा बजेट निर्माण गर्नुपर्ने बताए। विज्ञहरू गणेश तिमल्सिना र नवराज गेलालले स्थानीय तहका बहुआयामिक पक्षहरूमाथि प्रशिक्षण दिएका थिए।
कार्यक्रमको अध्यक्षता पार्टीका अध्यक्ष चन्देश्वर मण्डलले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव मनोज पौडेलले गरेका थिए। उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा केन्द्रीय सदस्य अच्युत मैनाली, प्रभु हजरा, प्रदेशका श्रम तथा यातायात मन्त्री सारदा थापा लगायतका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको थियो।
