विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताको पहिलो सरकार भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कोशी प्रदेशस्तरीय ‘अपराध अनुसन्धान समीक्षा’ गोष्ठीको उद्घाटन गर्दै उनले प्रहरी सङ्गठनमाथि उठेका प्रश्न र जिज्ञासाप्रति जिम्मेवार बन्नुपर्ने विचार व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले प्रहरी सङ्गठनलाई नियन्त्रणमा राख्ने सोचले अपराध अनुसन्धानमा असर पर्ने भन्दै सङ्गठनलाई समयानुकूल बनाउन साधन, स्रोत र व्यवस्थापकीय कमी कमजोरीलाई राज्यले पूरा गर्नुपर्ने धारणा राखे । प्रहरीको नीति र ऐनलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले ‘डिएनए’ परीक्षण गर्ने प्रयोगशाला निर्माण र ‘डिजिटल’ प्रणालीमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
समाजमा शान्तिसुरक्षा स्थापना र सुशासनअन्तर्गत अपराध अनुसन्धानमा प्रहरीले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेको धारणा राख्दै उनले प्रहरीले अनुसन्धानमा त्रुटि हुन नदिन र कानुनको परिधिभित्र रही काम गर्न सुझाव दिए ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले अपराध अनुसन्धानमा देखिने त्रुटि र कमीकमजोरी निवारण गर्न गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रहरीको सफल अनुसन्धानबाट पीडित नागरिकले न्याय पाउने भएकाले यसतर्फ गम्भीर बन्नुपर्नेमा जोड दिए ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले विज्ञान, सूचना प्रविधि र सञ्चारले मानव जीवन सहज बनाए पनि अपराध अनुसन्धानतर्फ जटिलता र चुनौती थपिएको जानकारी दिए । उनले प्रमाणका आधारमा अनुसन्धानसहित क्षमता विकास जरुरी रहेको चर्चा गर्दै गोष्ठीबाट आउने निष्कर्षले अपराध अनुसन्धानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले सुशासनको अनुभूति भएमा मात्र जनताले राज्यप्रति विश्वास गर्ने बताए । जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाबहादुर भुसालले न्याय सधैँ अनुसन्धानको घेराभित्र रहने भएकाले प्रहरीले गर्ने अनुसन्धानमा गम्भीर हुनुपर्ने धारणा राखे । अपराधीले पनि विज्ञान र प्रविधिको प्रयोग गर्ने भएकाले अनुसन्धानमा चुनौती थपिएको भन्दै उनले अनुसन्धानलाई गुणस्तरीय बनाउन प्रहरी सङ्गठनले अन्तर निकायसँग सहकार्य र सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए ।
सो गोष्ठीमा कोशी प्रदेशका सबै जिल्लाका प्रहरी उपरीक्षक तथा अनुसन्धान अधिकृतहरूको सहभागिता रहेको थियो ।
