NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एमालेले संविधान संशोधन प्रक्रिया अघि बढायो, सुझाव कार्यदल सक्रिय

• नेकपा एमालेले संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरी प्रक्रिया अघि बढाएको छ। • कार्यदलले संविधान कार्यान्वयनका अनुभव, जटिलता र सुधारका क्षेत्रबारे अध्ययन गर्नेछ। • संविधान संशोधनका विषयमा अन्य राजनीतिक दलहरूसँग संवाद र छलफल गर्ने निर्णय पनि गरिएको छ।
Sarita Pandey
Sarita Pandey
14 June 2026, 5:47 pm १ मिनेट पढाइ
आकार:
संविधान संशोधन
Share:

नेकपा एमालेले संविधान संशोधनका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ। यस प्रयोजनका लागि पार्टीले गठन गरेको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आइतबार सम्पन्न भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले संविधानलाई थप सुदृढ, प्रभावकारी र समयानुकूल बनाउन राजनीतिक तथा सामाजिक क्षेत्रबाट सुझाव संकलन गरी संशोधन प्रस्ताव तयार गर्ने निर्णय गरेको छ। कार्यदलले संविधान कार्यान्वयनको हालसम्मको अनुभवको समीक्षा गर्दै यसका सबल र कमजोर पक्ष तथा कार्यान्वयनमा देखिएका जटिलता पहिचान गर्नेछ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित यस कार्यदलको पहिलो बैठक संयोजक पौडेलकै अध्यक्षतामा सम्पन्न भएको थियो। सचिव महेशकुमार बर्तौलाले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

संविधान कार्यान्वयनका अनुभव, जटिलता र सुधारका क्षेत्रबारे अध्ययन गर्न पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा एक उपसमिति पनि गठन गरिएको छ। उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य छन्।

सो उपसमितिले संविधान संशोधनसम्बन्धी सुझाव संकलनको कार्ययोजना र विस्तृत कार्यतालिका तयार गरी आगामी बैठकमा पेस गर्नेछ।

कार्यदलले अन्य राजनीतिक दलहरू र उनीहरूले गठन गरेका संविधान संशोधन संयन्त्रहरूसँग पनि संवाद, छलफल र अन्तरक्रिया अघि बढाउने निर्णय गरेको छ।

कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई दिइएको छ। कार्यदलका सदस्यहरूमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरे रहेका छन्।

गत जेठ ४, ८, ९ र १० गते बसेको पार्टी सचिवालय बैठकले संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार