पटनास्थित खान ग्लोबल स्टडिज तोडफोडका अभियुक्त भारतीय नागरिक प्रिन्स यादव विराटनगरको शुभ होटलमा मृत फेला परेका छन्। २४ वर्षीय यादवको उपचारका लागि अस्पताल लैजाँदै गर्दा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यादव बिहारका शैक्षिक व्यवसायी रोशन आनन्दका भाइ हुन्। उनी केही समयअघि आनन्दको शैक्षिक संस्थामा भएको घटनामा संलग्न थिए। प्रहरीले उनी नेपालमा लुकेर बसेको अनुमान गरेको छ।
गत जेठ १९ गते पटनास्थित ज्ञानबिन्दु जिएस एकेडेमी र खान ग्लोबल स्टडिजबीच विवाद भएको थियो। उक्त विवादमा खान ग्लोबल स्टडिजमा तोडफोड, झडप र गोली चलेको थियो। खान सरको नामले चिनिने फैसल खानले यादवविरुद्ध एफआइआर दर्ता गराएका थिए।
यादव जेठ २० गते विराटनगर बसपार्कस्थित मेट्रोसिटी होटलमा बसेका थिए। जेठ २२ गते उनी शुभ होटलमा सरेका थिए, जहाँ उनको मृत्यु भयो।
प्रहरी अनुसन्धानमा यादवको टाउकोमा चोट देखिएको छ। मृत्युको स्पष्ट कारण भने खुलिसकेको छैन। प्रहरी उपरीक्षक कटवालका अनुसार मृतक यादवसँग होटलमा बस्दै आएका अन्य ४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
होटलमा अचेत भएका यादवलाई नातामा भाइ पर्ने सप्तरीका तीर्थकुमार यादवसहित चारजनाले अस्पताल पुर्याएका थिए। प्रहरीले मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकेको छ। शव जिम्मा लगाउने तयारी भइरहेको छ।
