नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र निरंकुशता सुरु भएको आरोप लगाएका छन्। सभापति गगन थापाले कोइराला निवासमै पुगेर साथीहरूलाई कारबाहीको धम्की दिएपछि आफूले राखेका पाँच बुँदे माग सार्वजनिक गर्न बाध्य भएको उनले बताए।
कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता झनै बढेको बताए। कांग्रेस अब बीपी कोइरालाले प्रतिपादन गरेको नीतिबाट अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।
उनले नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन सबै शक्तिबीच सहकार्य र एकता जरुरी रहेको उल्लेख गरे। कोइरालाले पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता व्यक्त गरे।
अर्का नेता डा. शशांक कोइरालाले पार्टी फुटिसकेको र यसको लागि सर्वोच्च अदालत जिम्मेवार रहेको बताए। उनले पार्टी सभापति गगन थापा एक्लैले पार्टी चलाउन नसक्ने दाबी गरे।
