सुनसरीको रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीका छोरा देवेन्द्र नारायण चौधरी नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।
विशेष अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले असार ३० गते चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार कसुरदार ठहर गरेको हो। चौधरीले रामधुनी नगरपालिकामा इन्जिनियर पदमा नियुक्तिका लागि पेस गरेको उच्च माध्यमिक तह (प्लस टु) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको थियो।
सरकारी सेवामा प्रवेश गर्न र लाभ लिन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। अदालतले झुटा शैक्षिक प्रमाणपत्र पेस गरी लाभ लिने कार्य भ्रष्टाचार निवारण ऐन अन्तर्गतको कसुर ठहर गरेको हो।
