लगातारको वर्षाले काठमाडौं उपत्यकाका सडक जलमग्न भएका छन्। ट्राफिक प्रहरीले सवारी आवागमनमा असर पुगेको जनाएको छ।
पानी जमेका सडकमा सतर्कता अपनाउन चालकलाई आग्रह गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक जलमग्न हुँदा दुर्घटनाको जोखिम बढेको बताए।
सुवेदीका अनुसार सडकमा पानी जमेपछि सवारीसाधन एकै लेनमा चल्नुपर्दा दुर्घटनाको सम्भावना बढ्छ।
“सार्वजनिक बिदाले आज ट्राफिक व्यवस्थापन सहज भयो। तर सडकमा पानी जम्दा दुर्घटनाको जोखिम छ। एकै लेनमा सवारी चलाउनुपर्दा सावधानी आवश्यक छ,” उनले भने।
सुवेदीले माइतीघर, अनामनगरलगायतका क्षेत्रमा सडक जलमग्न भएको जानकारी दिए। उनले प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापनको आवश्यकता औंल्याए।
वर्षायाममा पानी जमेका सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न सुवेदीले आग्रह गरेका छन्।
