NM Khabar 10 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ग्यास अभावप्रति कांग्रेसको आपत्ति: आयात दोब्बर पार्न माग

• नेपाली कांग्रेसले मुलुकमा ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल आयात दोब्बर पार्न माग गरेको छ। • पार्टीले ग्यासको विकल्पमा विद्युत् खपत बढाउने नीति ल्याउन, विद्युत् महसुल र इन्डक्सन चुलोमा सहुलियत दिन सरकारसँग आग्रह गरेको छ। • कांग्रेसले कृषिमा मल अभाव, कालोबजारी, बिचौलिया र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।
Sarita Pandey
Sarita Pandey
10 August 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
ग्यास अभाव कांग्रेस
Share:

काठमाण्डु – नेपाली कांग्रेसले मुलुकमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल ग्यासको आयात दोब्बर बढाएर पर्याप्त भण्डारण सुनिश्चित गर्न माग गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा जारी केन्द्रीय कार्यसमितिको बैठकले सोमबार ग्यास आपूर्ति, ऊर्जा नीति, कृषि, महँगी तथा सुशासन लगायतका विषयमा सरकारको आलोचना गर्दै विभिन्न निर्णय गरेको हो ।

कांग्रेसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित भएका बेला नेपालमा ग्यासको अभाव हुन नदिन ७.१ किलो ग्यास भरेर बजार सहजीकरण गरिएको स्मरण गरेको छ । हाल पर्याप्त अध्ययन र पूर्वतयारीबिना १४.२ केजी ग्यास भर्न निर्देशन दिइएको आरोप छ । यस्तो निर्णयले बजारमा ग्यासको अभाव थप गम्भीर बनेको कांग्रेसको दाबी छ ।

कांग्रेसले सरकारलाई तत्काल कूटनीतिक पहल गरी ग्यास आयात दोब्बर बनाउन, पर्याप्त स्टक राख्न तथा आपूर्ति सञ्जाल व्यवस्थित र सहज बनाउन माग गरेको छ । तदर्थवादी निर्णय बन्द गरी खाना पकाउने ग्यासको सुलभ र निरन्तर उपलब्धता सुनिश्चित गर्न आग्रह गरेको छ ।

ग्यासको विकल्पका रूपमा विद्युत् खपत बढाउने दीर्घकालीन नीति आवश्यक रहेको जनाउँदै कांग्रेसले विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाउन तथा इन्डक्सन चुलोलगायत विद्युतीय उपकरणमा पुन: सहुलियत दिन सरकारसँग माग गरेको छ ।

विगतका सरकारले आन्तरिक विद्युत् खपत बढाउँदै ग्यासको प्रयोग क्रमश: विस्थापन गर्ने नीति लिएको उल्लेख गर्दै स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने स्पष्ट ऊर्जा नीति तत्काल लागू गर्नुपर्ने जनाइएको छ ।

त्यस्तै, कांग्रेसले कृषि क्षेत्रमा रासायनिक मलको अभाव, कालोबजारी र बिचौलियाको समस्या समाधान गर्न पनि सरकारसँग माग गरेको छ । मुख्य बाली लगाउने समयमा किसानले सहज रूपमा अनुदानको मल पाउन नसकेको भन्दै मलको आपूर्ति सुनिश्चित गर्न माग गरिएको छ ।

कालोबजारी र बिचौलियाको अन्त्य गर्दै साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने व्यवस्था गर्नुपर्ने कांग्रेसको माग छ । सीमावर्ती क्षेत्रका किसानले भोग्दै आएको समस्याको स्थायी समाधान खोज्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

ग्यास अभाव, विद्युत्मा कर वृद्धि र आपूर्ति व्यवस्थापन कमजोर हुँदा खाद्य सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको कांग्रेसले जनाएको छ । सरकारले सुशासन, मूल्य नियन्त्रण र नागरिकका समस्या समाधान गर्ने विषयमा दिएका आश्वासन कार्यान्वयन हुन नसकेको कांग्रेसको आरोप छ ।

दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि रोक्न, आपूर्ति व्यवस्थालाई प्रभावकारी र पारदर्शी बनाउन तथा बजार अनुगमन तीव्र पार्न माग गर्दै आमनागरिक, किसान, मजदुर तथा विपन्न वर्गको जीविकोपार्जन सहज हुने गरी ठोस राहत कार्यक्रम ल्याउन पनि सरकारसँग आग्रह गरिएको छ ।

बैठकमा २२ जना केन्द्रीय सदस्यले विभिन्न विषयमा धारणा राखेका थिए । छलफल भने जारी रहेको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २६ गते मंगलबार बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुन: बस्ने जनाइएको छ ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार