काठमाडौँको समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडको बेलबारी सेवा केन्द्रले बचतकर्ताको करोडौँ रुपैयाँ अपचलन गरी कार्यालय बन्द गरेपछि सयौँ बचतकर्ता पीडित बनेका छन्। संस्थाले हालसम्म १ करोड ३६ लाख २५ हजार ९६६ रुपैयाँ बचत फिर्ता गर्न बाँकी राखेको छ।
साना व्यवसायीहरूले उक्त सहकारीमा बचत गरेको रकम फिर्ता पाउन स्थानीय प्रशासन, प्रहरी कार्यालय र सहकारी व्यवस्थापनको दैलो चहार्न बाध्य भएका छन्। पटक–पटक भएका लिखित सहमतिहरू कार्यान्वयन नहुनु र सञ्चालकहरू सम्पर्कविहीन हुनुले बचतकर्ताहरू थप आक्रोशित र सशङ्कित बनेका छन्।
बेलबारी शाखामा मात्रै १६५ जनाभन्दा बढी बचतकर्ताले औपचारिक रूपमा १ करोड ५७ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता पाउन लिखित निवेदन दिइसकेका छन्। राजकुमार कार्कीको १५ लाख ४९ हजार रुपैयाँभन्दा बढी रकम महिनौँदेखि अड्किएको छ। यसबाहेक खगेन्द्र कार्कीको २ लाख ३० हजार, लेख नारायण शाहको २ लाख ५ हजार, जानुका कार्कीको ३ लाख ७८ हजार, विकास गिरीको २ लाख १२ हजार, सुस्मिता श्रेष्ठको १ लाख ५४ हजार, प्रकाश भण्डारीको २ लाख ९२ हजार र विजय कुवरको ७ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सहकारीमै फसेको छ।
गत वर्षको चैत महिनाबाट समस्या तीव्र बनेको थियो। बेलबारी नगरपालिका वडा नं. ३ स्थित विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको यो शाखा कार्यालय बचतकर्तालाई पूर्वजानकारी नै नदिई २०८२ साल चैत २६ गते एक्कासि बन्द गरियो।
इलाका प्रहरी कार्यालय बेलबारीको रोहबरमा २०८२ साल चैत २५ गते बचतकर्ता, बजार प्रतिनिधिहरू र सहकारीका मुख्य पदाधिकारीहरूबिच पहिलो चरणको लिखित सहमति जुटेको थियो। संस्थाका तर्फबाट केन्द्रीय सचिव उषा दाहाल र तत्कालीन कार्यवाहक अध्यक्ष सरस्वती नेपालले हस्ताक्षर गरेको उक्त सहमतिअनुसार १५ दिनपछि अर्थात् वैशाख १० गतेदेखि सम्पूर्ण बचतकर्ताको रकम क्रमिक रूपमा फिर्ता गर्ने र दैनिक कारोबार सुचारु गर्ने बाचा गरिएको थियो।
तर, सञ्चालकहरूले सहमतिअनुसार काम नगरेपछि पीडित बचतकर्ताहरू पुनः संगठित भएर जिल्ला प्रशासन कार्यालय मोरङमा संस्थाका मुख्य व्यवस्थापक युवराज प्रधान, कार्यवाहक अध्यक्ष सरस्वती नेपाल, सचिव उषा दाहाल, उपाध्यक्ष लक्ष्मण पाण्डे, सह–सचिव लोकेन्द्र भाट र कार्यकारी प्रमुख टेकबहादुर शाहीविरुद्ध संयुक्त ठाडो उजुरी दर्ता गराएका थिए।
जिल्ला प्रशासन कार्यालय मोरङले २०८३ जेठ २५ गते पदाधिकारीहरूलाई छलफलका लागि प्रशासनमा उपस्थित गराउन आदेश दिएको थियो। सरकारी निकायको दबाबपछि संस्थाले जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीमा साप्ताहिक प्रगति प्रतिवेदन बुझाउँदै आएको छ।
संस्थाले पेस गरेको प्रतिवेदनअनुसार १६५ जना बचतकर्ताले १ करोड ५७ लाख रुपैयाँ माग गर्दा जम्मा १६२ जनालाई २० लाख ७४ हजार ३४ रुपैयाँ मात्र फिर्ता गरेको विवरण छ। संस्थाले तयार पारेको किस्ताबन्दी तालिकाअनुसार साउन, भदौ र असोज महिनासम्म बचत फिर्ता गरिने भनिएको छ, तर ऋण असुली शून्य देखिएको र केन्द्रीय तरलता कोषबाट रकम जुटाउने भनिएकाले यसमा बचतकर्ता विश्वस्त हुन सकेका छैनन्।
सञ्चालक समितिकी सचिव उषा दाहालले बजारमा लगानी गरिएको कर्जा समयमा असुल हुन नसकेको, वित्तीय क्षेत्रमा मन्दी र संस्थामा चरम तरलता अभावका कारण एकमुष्ट रकम भुक्तानी गर्न नसकिएको दाबी गरेकी छन्। उनले उपलब्ध स्रोत परिचालन गरेर थोरै–थोरै रकम फिर्ता दिने प्रयास भइरहेको र कसैको पनि निक्षेप नडुब्ने आश्वासन दिएकी छन्।
डिभिजन सहकारी कार्यालय काठमाडौँमा दर्ता भई काठमाडौँ महानगरपालिका वडा नं. ३५ मा मुख्य कार्यालय रहेको यो संस्थाले मोरङको बेलबारीमा सेवा केन्द्र विस्तार गर्दा स्थानीय तहसँग समन्वय गरे पनि पछिल्लो समय संस्थागत सुशासन र वित्तीय अनुशासन कायम राख्न सकेको देखिँदैन।
