बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ। मृतक महागढीमाई नगरपालिका–९ बलुवाकी राजेन्द्र महतोकी छोरी लालु कुमारी महतो हुन्। उनी केही दिनदेखि मामा घरमा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ५:३० बजे मामा घर पछाडिको स्थानीय तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा बालिका डुबेकी थिइन्। परिवारका सदस्यले तत्काल उद्धार गरे पनि उनको ज्यान बचाउन सकेनन्।
घटनाको जानकारी साँझ करिब ६:१५ बजे इलाका प्रहरी चौकी बड्कीफुलबरियामा पुगेपछि असई राम विद्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का र फरेन्सिक टोलीसहितको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान गरेको छ।
प्रहरीले बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
