डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला भाइरसले ८० जनाको ज्यान लिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
डब्ल्यूएचओले २४६ जना गम्भीर बिरामी परेको जनाएको छ। यो बुन्डी बुग्यो भाइरसबाट भएको हो, जसको औषधि वा खोप उपलब्ध छैन।
भाइरस कंगो बाहिर छिमेकी युगान्डामा पनि फैलियो। त्यहाँ दुईजना संक्रमित भेटिएका छन्। बिबिसीले एक ५९ वर्षीय व्यक्तिको मृत्यु भएको जनाएको छ।
डब्ल्यूएचओका डाइरेक्टर जनरलले संक्रमितको यकिन संख्या र यसको फैलावटबारे अनिश्चितता रहेको बताएका छन्। मानिसहरूको आवतजावत र व्यापारका कारण कंगोका छिमेकी देशहरू पनि इबोलाको उच्च जोखिममा छन्।
प्रकोप पुष्टि भएको कंगोको इतुरी प्रान्त दुर्गम मानिन्छ। यो राजधानी किन्शासाबाट १ हजार किलोमिटरभन्दा टाढा पर्छ। कमजोर सडक सञ्जाल र स्वास्थ्य पूर्वाधारले रोग नियन्त्रणमा चुनौती थपेको अधिकारीहरू बताउँछन्।
अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) ले अधिकांश मृत्यु मोङवालु र रुवाम्पारा स्वास्थ्य क्षेत्रमा भएको जनायो। चिकित्सकहरूका अनुसार, इबोला बान्ता, रगत, वीर्य वा अन्य शारीरिक तरल पदार्थमार्फत सर्न सक्छ।
कंगोमा यसअघि इबोला महामारीमा ४३ जनाले ज्यान गुमाएका थिए।
