वैदेशिक रोजगार विभागले २०६४ सालदेखि थन्किएका ४० हजारभन्दा बढी ठगी मुद्दालाई डिजिटल अभिलेखमा राख्ने काम तीव्र पारेको छ। यसले पुराना मुद्दाको व्यवस्थापन, खोज र अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउनेछ।
विभागका अनुसार हालसम्म १० हजारभन्दा बढी मुद्दा स्क्यान गरी विवरण तयार गरिएको छ। बाँकी मुद्दाको डिजिटल अभिलेखीकरण कार्य जारी छ। प्रवक्ता बिन्दा आचार्यका अनुसार यसले मुद्दाहरूलाई समयमै अदालतमा पेश गर्न सहज हुनेछ।
गत भदौ २४ गतेको आगजनीले पुराना मुद्दा स्क्यान गरिएको डिभाइस नष्ट भएको थियो। सोही कारण विभागले पुनः फाइल स्क्यान गरी विद्युतीय अभिलेखीकरण गर्न लागेको हो।
विभागको लक्ष्य आगामी ६ महिनाभित्र पुराना मुद्दा फछ्यौट गर्ने छ। यसका लागि छुट्टै कर्मचारी टोली खटिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने प्रतिबद्धता जनाएको छ। पीडितलाई न्याय दिलाउन पुराना मुद्दाको चाँडो फछ्यौट प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
