काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ देखि फोहोर व्यवस्थापनका लागि ७ क्लस्टर प्रणाली लागू गर्ने भएको छ। यस योजनाले फोहोरलाई निःशुल्क, सशुल्क, न्यूनीकरण र पुनः चक्रीय प्रयोगमा आधारित ‘सर्कुलर इकोनोमी’लाई प्रवर्द्धन गर्नेछ।
प्रविधिको प्रयोगमार्फत फोहोरको वैज्ञानिक व्यवस्थापन गरिनेछ। स्थानान्तरण केन्द्रबाट निस्केको फोहोरलाई बन्चरेडाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरिनेछ।
महानगर क्षेत्रभित्रका सार्वजनिक तथा खाली स्थानहरू बालबालिका र ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास गरिनेछ। फोहोरमैला व्यवस्थापन शुल्क ‘प्रदूषकले तिर्ने’ सिद्धान्तमा आधारित हुनेछ। शुल्क सङ्कलन एकद्धार प्रणालीमार्फत गरिनेछ।
बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहसँग वित्तीय साझेदारी गरिनेछ। फोहोर व्यवस्थापनसम्बन्धी सूचना अनलाइन एपमार्फत उपलब्ध हुनेछ। यो सूचना महानगरपालिका, सेवा प्रदायक र सेवाग्राहीको पहुँचमा रहनेछ।
वायु, जल, जमिन, ध्वनि र दृश्य प्रदूषण नियन्त्रण गरिनेछ। यसका लागि उचित प्रविधिको प्रयोग गरिनेछ। सङ्घ, प्रदेश र अन्य स्थानीय सरकारसँग समन्वय गरी वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ।
