खजुरा गाउँपालिकाको मुटुमा बालबालिका र गर्भवती महिलामा कुपोषणको भयावह अवस्था देखा परेको छ। हालैको दोस्रो चरणको पोषण लेखाजोखाले ठूलो संख्यामा बालबालिका र गर्भवती महिलामा कुपोषण पहिचान गरेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाले ६ महिनादेखि ५ वर्ष मुनिका ४,२८९ बालबालिकाको स्वास्थ्य जाँच गर्दा ४६६ जनामा कुपोषण भेटिएको छ। यीमध्ये ८७ जना बालबालिका कडा कुपोषणको चपेटामा छन्। सोही अवधिमा ९३ जना गर्भवती महिलामा पनि कुपोषण पाइएको छ।
पहिलो चरणको लेखाजोखामा २,५४ जना बालबालिका र १,१६ जना गर्भवती तथा सुत्केरी महिलामा कुपोषण पहिचान भएको थियो। दोस्रो चरणमा यो संख्या अझ बढेको छ।
स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीका अनुसार सबैभन्दा बढी खजुरा–७ स्थित सोनपुर स्वास्थ्य चौकीमा १,३४ जना बालबालिका कुपोषित भेटिएका छन्। उढरापुर स्वास्थ्य चौकीमा ९२ जना, आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ८४ जना, रनियापुर स्वास्थ्य चौकीमा ५८ जना, प्राथमिक स्वास्थ्य केन्द्रमा ४४ जना, सितापुर स्वास्थ्य चौकीमा २० जना र राधापुर स्वास्थ्य चौकीमा ७ जना बालबालिका कुपोषणको शिकार भएका छन्।
गर्भवती महिलामा पनि कुपोषणको संख्या बढ्दो छ। खजुरा–६ का ३१ जना गर्भवती महिलामा कुपोषण देखिएको छ। वडा नम्बर ७ का २२, वडा नम्बर ८ का १५, वडा नम्बर ५ का १३, वडा नम्बर ४ का ६, वडा नम्बर २ का ५ र वडा नम्बर १ मा १ जना गर्भवती महिला कुपोषित छन्।
चालु आर्थिक वर्ष २०८२/०८३ मा खजुरा–८ रनियापुर निवासी एक गर्भवती महिलाको कुपोषणकै कारण मृत्यु भएको छ।
कुपोषितलाई उपचार गर्न गाउँपालिकाको ८ वटै वडामा ‘ओटिसी’ सेन्टर स्थापना गरिएको छ। यहाँ कडा र मध्यम खालका कुपोषित बिरामीलाई पोषण प्याकेज दिएर उपचार तथा निगरानी गरिन्छ।
घरमा पोषणयुक्त खानेकुरा भए पनि बाहिरका खानेकुरालाई बढी महत्त्व दिने, आमाले साना बच्चाको खानपानमा ध्यान नदिने, कमजोर आर्थिक अवस्था र सन्तुलित आहारको कमी जस्ता कारणले कुपोषणको संख्या ह्वात्तै बढेको स्वास्थ्य शाखा प्रमुख केसीले बताइन्।
पोषणयुक्त खानाको अभाव, स्वास्थ्यसम्बन्धी जनचेतनाको कमी र आर्थिक समस्या कुपोषण बढ्नुका मुख्य कारण हुन्।
समयमै उचित उपचार र पोषणयुक्त खानाको व्यवस्था गरे कुपोषणको समस्या घटाउन सकिने स्वास्थ्य विज्ञहरूले जोड दिएका छन्। गाउँपालिकाले कुपोषण न्यूनीकरणका लागि पोषण शिक्षा, नियमित स्वास्थ्य परीक्षण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ का अनुसार कुपोषित बालबालिका र गर्भवती महिलालाई परामर्श र पोषण सामग्री वितरण भइरहेको छ।
गाउँपालिकाले कुपोषणबाट बालबालिका र गर्भवती आमाको मृत्यु हुन सक्ने भएकाले कुखुरा, अण्डालगायतका पोषण प्याकेज खरिद गरी वितरण गरेको छ।
