कोशी प्रदेशमा डेंगी सङ्क्रमणको दर चिन्ताजनक रूपमा बढेको छ। स्वास्थ्य निर्देशनालय, कोशी प्रदेशका अनुसार हालसम्म प्रदेशभर ७९३ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। प्रदेशका १३ वटै जिल्लामा यो सङ्क्रमण फैलिएको छ।
सबैभन्दा बढी जोखिममा रहेको झापा जिल्लामा मात्रै २२८ जनामा सङ्क्रमण देखिएको छ। दोस्रो स्थानमा सुनसरी जिल्ला छ, जहाँ २०३ जना सङ्क्रमित भएका छन्।
निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार ओखलढुंगामा १२२ जना र खोटाङमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ। यसैगरी, संखुवासभामा १८, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, धनकुटामा ४, मोरङमा २०, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगी सङ्क्रमण देखिएको छ।
सोही अवधिमा विभिन्न जिल्लामा डेंगी सङ्क्रमणका ५१ वटा सम्भावित र दुई वटा शंकास्पद बिरामी अस्पतालमा उपचाररत छन्। सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता छ।
