NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

तलब नपाएपछि मधेशका १३६ प्रयोगशालाकर्मी आन्दोलित

मधेश प्रदेशका १३६ स्थानीय तहका जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी तलब र सेवा सुविधाबाट वञ्चित भएका छन्। आर्थिक वर्ष २०८२/०८३ को कात्तिकदेखि तलब नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
Kamala Devi
Kamala Devi
16 June 2026, 1:48 pm १ मिनेट पढाइ
आकार:
प्रयोगशालाकर्मी आन्दोलन
Share:

आर्थिक वर्ष २०८२/०८३ को कात्तिक महिनादेखि तलब नपाएका मधेश प्रदेशका १३६ स्थानीय तहका प्रयोगशालाकर्मी आन्दोलित भएका छन्। प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा सञ्चालित यी प्रयोगशालाका कर्मचारीले चाडपर्व भत्ता लगायतका सेवा–सुविधासमेत पाएका छैनन्।

लामो समयदेखि तलब र सुविधा नपाएको भन्दै उनीहरूले संयुक्त संघर्ष समिति गठन गरी जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा धर्ना दिन थालेका छन्। चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको सेवा सम्झौता तथा म्याद नवीकरण प्रक्रियाले पूर्णता पाएको छैन।

समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएकोले आन्दोलनको बाटो रोज्न बाध्य भएको उनीहरूले जनाएका छन्। उनीहरूले कात्तिक महिनादेखिको सम्पूर्ण बाँकी तलब तथा चालु आर्थिक वर्षको अन्त्यसम्मको पारिश्रमिक तत्काल भुक्तानी गर्न माग गरेका छन्।

सेवा सम्झौता अविलम्ब नवीकरण गर्न तथा चाडपर्व, पोशाक, जोखिम र महँगी भत्ता लगायतका सुविधा उपलब्ध गराउनसमेत उनीहरूको माग छ। माग सम्बोधन नभएमा आन्दोलनका कारण जनस्वास्थ्य सेवा प्रभावित भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायहरूले लिनुपर्ने चेतावनी उनीहरूले दिएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार