देशभर प्रहरीले नियमित गस्तीमा लागूऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
बर्दिया र सुनसरीबाट पाँच/पाँच जना पक्राउ परेका छन्। झापा र ललितपुरबाट चार/चार, सिरहा र काठमाडौँबाट तीन/तीन, कास्कीबाट दुई जना पक्राउ परेका छन्। धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक/एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन र गाँजा बरामद गरेको छ। चिकित्सकको सिफारिसमा प्रयोग हुने बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र ट्रामाडोलजस्ता औषधिहरू पनि बरामद गरिएको छ।
