NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चिया निर्यातमा भारतीय अवरोध: उद्योगीद्वारा १ असारदेखि उद्योग बन्द गर्ने घोषणा

भारतले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेपछि नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएको छ। यसका कारण करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको छ। समस्याको समाधान नहुँदा उद्योगीहरूले १ असारदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।
Kamala Devi
Kamala Devi
14 June 2026, 11:47 am १ मिनेट पढाइ
आकार:
चिया निर्यात अवरोध
Share:

इलामका चिया उद्योगीहरूले १ असारदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेपछि नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा गम्भीर संकट आएको जनाएको छ।

जटिल गुणस्तर जाँच, अपारदर्शी नतिजा र भण्डारणको अभावले ठूलो परिमाणमा तयारी चिया निर्यात हुन सकेको छैन। एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको छ। यसमध्ये २ लाख किलोभन्दा बढी चिया भारतीय गोदाममै रोकिएको छ। १० लाख किलोभन्दा बढी चिया नेपालका उद्योगहरूमा थन्किएको छ।

भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट महिनौंसम्म नदिने गरेको छ। गुणस्तरहीन ठहरिएमा भारतीय गोदाममै नष्ट गर्नुपर्ने अव्यावहारिक नियम थपिएको उद्योगीहरूको गुनासो छ। यस कारण नेपाली चिया निर्यात ठप्प भएको छ।

निर्यात ठप्प भएपछि उद्योगहरूले चिया किसानलाई हरियो पत्तिको भुक्तानी दिनसमेत नसक्ने अवस्था सिर्जना भएको छ। यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उद्योगीहरूले २०८३ असार १ गतेदेखि सम्पूर्ण उद्योग बन्द गर्नुपर्ने बाध्यत्मक अवस्था आएको जानकारी दिएका छन्।

उद्योग बन्द हुँदा चिया किसान, श्रमिक र व्यवसायीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै एसोसिएसनले समस्याको निकासका लागि सरकार र सरोकारवालाहरूसँग सहयोगको अपिल गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार