NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकार सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै, कार्यविधि अन्तिम चरणमा

संघीय मामिला मन्त्रालयले देशभरका सरकारी कार्यालय र स्थानीय तहमा सेवा प्रवाह सुधार गर्न सयौं युवालाई ‘सहजकर्ता’ नियुक्त गर्ने कार्यविधि तयार पारेको छ। यस कार्यविधिअन्तर्गत नियुक्त हुने सहजकर्ताले राजपत्रांकित तृतीय श्रेणी वा सहायक पाँचौँ तहको सुरु तलब स्केलको ५० प्रतिशत बराबर मासिक प्रोत्साहन पारिश्रमिक पाउनेछन्। सहजकर्ता बन्न स्नातकोत्तर तह उत्तीर्ण वा सोही तहको शोध कार्य चलिरहेको हुनुपर्नेछ र उमेर ३० वर्षभन्दा कम हुनुपर्नेछ।
Rohan Tamang
Rohan Tamang
13 June 2026, 6:47 pm १ मिनेट पढाइ
आकार:
युवा सहजकर्ता
Share:

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कार्यालय र स्थानीय तहहरूमा सेवा प्रवाहलाई चुस्त र नागरिकमैत्री बनाउन सयौं शिक्षित युवालाई ‘सहजकर्ता’का रूपमा परिचालन गर्ने गृहकार्य सुरु गरेको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको ‘सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधि, २०८३’ को मस्यौदा पारित भएमा देशभरका स्थानीय तह, प्रदेश र संघीय कार्यालयहरूमा सहजकर्ताको रूपमा युवाहरू भर्ना हुने बाटो खुल्नेछ । यसबाट उच्च शिक्षा हासिल गरेका सयौं युवाले आकर्षक पारिश्रमिक र सेवा सुविधासहित सरकारी सेवामा प्रवेश गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।

कार्यविधिअनुसार, सेवाग्राहीको अत्यधिक चाप हुने सरकारी कार्यालय, विकास निर्माणका आयोजना, मन्त्रालय, विभाग, सरकारी स्वामित्वका संस्थानहरू, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडा कार्यालयहरूमा यी सहजकर्ताहरू खटाइनेछन् । दफा १० बमोजिम विभिन्न निकायले अधिकतम दुई जनासम्म सहजकर्ताको माग गर्न सक्ने व्यवस्थाले देशभरका सयौं सरकारी कार्यालय र स्थानीय तहका वडाहरूमा रोजगारीको अवसर सिर्जना हुनेछ ।

सहजकर्ताहरूले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत स्तर) वा सहायक पाँचौँ तहको सुरु तलब स्केलको ५० प्रतिशत बराबरको रकम मासिक प्रोत्साहन पारिश्रमिक पाउनेछन् । यो रकम हाजिरीका आधारमा महिना समाप्त भएपछि सोझै बैंक खातामा जम्मा गरिनेछ । सन्तोषजनक काम गरेपछि सरकारी सेवाको अनुभव खुल्ने प्रमाणपत्र पनि प्रदान गरिनेछ, जसले युवाहरूको वृत्तिविकासमा टेवा पुग्ने विश्वास सरकारको छ ।

सहजकर्ता बन्न नेपाली नागरिक हुनुका साथै स्वीकृत विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको वा सोही तहको शोध कार्य चलिरहेको हुनुपर्नेछ । उमेर ३० वर्षभन्दा कम हुनुपर्नेछ । दफा ९ बमोजिम शैक्षिक योग्यता र उमेरका आधारमा योग्यताक्रम सूची तयार गरिनेछ । महिला, दलित, जनजाति र द्वन्द्वपीडित परिवारका सदस्यलाई विशेष प्राथमिकता र प्रोत्साहन अङ्क दिइनेछ ।

छनोट भएका सहजकर्ताहरूले सेवाग्राहीलाई अनलाइन आवेदन दिन, फाराम भर्न, आवश्यक कागजात मिलाउन र कर्मचारीहरूलाई काम छिटो फछ्र्यौट गर्न सहयोग गर्नेछन् । यस बृहत् योजनालाई व्यवस्थित गर्न मन्त्रालयले अनलाइन प्रणाली विकास गर्नेछ, जसले माग संकलनदेखि जिम्मेवारीमुक्त गर्नेसम्मका सबै प्रक्रियालाई स्वचालित बनाउनेछ ।

यस कार्यविधिले उच्च शिक्षा हासिल गरेका युवा वर्गलाई मुलुकको शासकीय पद्धति, विकास निर्माण र सेवा प्रवाहको प्रक्रियामा प्रत्यक्ष संलग्न गराउने उद्देश्य राखेको छ । यसबाट युवाहरूले प्रयोगात्मक सिकाइको अवसर पाउने, नागरिक र राष्ट्रप्रतिको सेवाभाव विकास हुने र सरकारी निकायहरूबाट प्रदान गरिने सेवामा सहजता एवं शीघ्रता आई नागरिक सन्तुष्टि अभिवृद्धि हुने लक्ष्य छ ।

सहजकर्ताहरूले जिम्मेवार कर्मचारीलाई आवश्यक सहयोग गर्ने, नीति, योजना तथा कार्यक्रम विकासमा सघाउने, अध्ययन, मूल्याङ्कन वा प्रतिवेदन कार्यमा सहयोग गर्ने, प्राविधिक ड्रइङ, डिजाइन, अनुगमन, सुपरीवेक्षण, गुणस्तर परीक्षण जस्ता कार्यमा सहयोग पुर्‍याउनेछन् । साथै, सरकारले सञ्चालन गरेका विभिन्न सचेतनामूलक एवं अभियानमूलक कार्यक्रम कार्यान्वयनमा पनि उनीहरूको भूमिका रहनेछ ।

कार्यविधिमा सहजकर्तालाई काममा लगाउँदा सूचना र गोपनीयता कायम राख्नुपर्ने विषयमा जिम्मेवार कर्मचारीले ध्यान दिनुपर्ने र सहजकर्ताले ती निर्देशनहरूको पालना गर्नुपर्ने उल्लेख छ । काममा रहँदासम्म राष्ट्रसेवक कर्मचारी सरह तोकिएको आचारसंहिता पालना गर्नु सहजकर्ताको कर्तव्य हुनेछ । नीतिगत मार्गदर्शनका लागि संघीय मामिला मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति रहने व्यवस्था गरिएको छ । मन्त्रालयले यस मस्यौदामाथि थप सुधार गर्न ७ दिनभित्र राय सुझाव पठाउन सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार