Site icon Nmkhabar

नयाँ सरकार गठनमा दीपकराज गिरीको प्रतिक्रिया: ‘फस्ट बेन्च चेन्ज भो, अब देश चेन्ज होस्’

काठमाडौँ। मुलुकको राजनीतिक सत्ता समीकरणमा आएको पछिल्लो फेरबदल र नयाँ सरकार गठनको प्रक्रियालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्। यसै क्रममा चर्चित कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत आफ्नो छोटो तर निकै अर्थपूर्ण धारणा सार्वजनिक गरेका छन्।

राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्ने र समय-समयमा तीखो व्यङ्ग्य प्रहार गर्ने गिरीले बिहीबार फेसबुकमा लेखेका छन्, “धेरैपछि फस्ट बेन्च चेन्ज भो, अब देश चेन्ज होस्।”

गिरीले सत्ताको नेतृत्व गर्ने मुख्य पात्रहरू अर्थात् ‘फस्ट बेन्चर’ हरू फेरिएको तर्फ संकेत गर्दै अब अनुहार मात्र नभई देशको अवस्था र जनताको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन आउनुपर्ने आशय व्यक्त गरेका हुन्। लामो समयदेखि उही अनुहारहरू पालैपालो सत्तामा पुगिरहेको सन्दर्भमा उनको यो टिप्पणीलाई धेरैले सान्दर्भिक मानेका छन्।

नेपालको राजनीतिमा हुने समीकरण परिवर्तनले जनस्तरमा खासै उत्साह ल्याउन नसकिरहेका बेला गिरीको यो ‘स्टाटस’ ले धेरैको ध्यान खिचेको छ। उनको यो पोस्टमा समर्थकहरूले अबको सरकारले गफभन्दा बढी काम गरेर देखाउनुपर्ने भन्दै समर्थन जनाएका छन्।

Exit mobile version