जनकपुरधाम, ९ चैत । जनकपुरधाम उपमहानगरपालिकाभित्र लामो समयदेखि समस्या बनेको फुटपाथ अतिक्रमणविरुद्ध मधेश प्रदेश सरकारले कडा कदम चालेको छ। सर्वसाधारणको आवागमनमा अवरोध पुर्याउँदै आएका सडकपेटीका पसलहरू हटाइएपछि नगरका प्रमुख क्षेत्रहरू व्यवस्थित देखिन थालेका छन्।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री फकिरा महतोको प्रत्यक्ष नेतृत्वमा सञ्चालन गरिएको यस अभियानअन्तर्गत रामानन्द चोक, प्रादेशिक अस्पताल जाने सडक, जानकी मन्दिर आसपास, राम मन्दिर क्षेत्र तथा जनक चोकलगायतका स्थानमा रहेका अव्यवस्थित व्यापारिक संरचनाहरू खाली गराइएको हो।
अभियानका क्रममा गृहमन्त्री महतोले धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण यी संवेदनशील क्षेत्रमा भएको अव्यवस्थित व्यापारले नगरको सौन्दर्य मात्र नभई आम नागरिकको दैनिक जीवनसमेत प्रभावित भएको बताए। उनले हटाइएका फुटपाथ पुनः कब्जा गर्ने प्रयास गरिएमा कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएका छन्।
यसअघि, जनकपुरधाम उपमहानगरपालिकाले पटक-पटक सूचना जारी गरी सडकपेटी खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले अटेर गर्दै आएका थिए। स्थानीय सरकारको प्रयास विफल भएपछि प्रदेश सरकार नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरीसहित संयुक्त अनुगमन र कार्यान्वयनमा सक्रिय भएको हो।
यस ‘क्लियरेन्स’ अभियानमा जनकपुरधाम उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायतका व्यावसायिक संस्थाहरूले पनि समर्थन जनाएका छन्। सडकपेटी खाली भएसँगै हिँडडुल गर्न सहज भएको भन्दै स्थानीयवासीले यो कदमको स्वागत गरेका छन्।
यद्यपि, विस्थापित भएका केही साना व्यवसायीहरूले भने जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्। प्रदेश सरकारले शहरलाई व्यवस्थित, स्वच्छ र सुरक्षित बनाउन यस्ता अभियान निरन्तर सञ्चालन गरिने स्पष्ट पारेको छ।

