Site icon Nmkhabar

बालेन शाहको शपथ ग्रहण: चैत १३ गते १२:३४ को साइत र सिंहदरबार प्रवेशको तयारी

काठमाडौँ । नेपालको संसदीय इतिहासमा एउटा नयाँ अध्याय सुरु गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा पूर्वमेयर बालेन्द्र शाह (बालेन) ले आगामी चैत १३ गते शुक्रबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ।

राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएअनुसार, शपथ ग्रहणका लागि दिउँसो १२:३४ बजेको शुभ साइत तय गरिएको छ। गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेपछि बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित भएको थियो।

धार्मिक र सांस्कृतिक विधि: १०८ बटुक र १६ भिक्षु बालेनको शपथ ग्रहण समारोह विगतका प्रधानमन्त्रीहरूको भन्दा केही फरक र सांस्कृतिक रूपमा भव्य हुने देखिएको छ। रास्वपा स्रोतका अनुसार शपथका क्रममा ७ वटा शंख फुकेर शंखनाद गरिनेछ भने १०८ जना बटुकले स्वस्ति शान्ति वाचन गर्नेछन्। साथै, १६ जना बौद्ध भिक्षुहरूले अष्ठमंगल पाठ गरी नयाँ सरकारको सफल कार्यकालको कामना गर्ने कार्यक्रम तय गरिएको छ।

सिंहदरबार प्रवेश र पदभार शपथ ग्रहण लगत्तै नवनियुक्त प्रधानमन्त्री शाह दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुहुनेछ। त्यहाँ उहाँलाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्नेछ भने त्यसलगत्तै उहाँले पदभार ग्रहण गरी मन्त्रिपरिषद्का पहिलो निर्णयहरूमा हस्ताक्षर गर्नुहुने कार्यतालिका रहेको छ।

३५ वर्षकै उमेरमा देशको कार्यकारी प्रमुख बन्न लाग्नुभएका शाहबाट आम जनताले सुशासन र विकासको ठूलो अपेक्षा राखेका छन्। यसअघि चैत १२ गते बिहीबार नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण र बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रक्रिया पूरा गरिनेछ।

Exit mobile version