काठमाडौँ । इरान र अमेरिकाबीचको युद्धले चौथो हप्ता पार गरिरहँदा विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ। यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी मध्यपूर्वको पछिल्लो अवस्थाबारे गम्भीर परामर्श गर्नुभएको छ। यो संवादलाई कूटनीतिक क्षेत्रमा निकै महत्त्वका साथ हेरिएको छ, विशेषगरी पाकिस्तानले अमेरिका र इरानबीच मध्यस्थताको भूमिका निभाउन खोजिरहेको बेला ट्रम्पको यो ‘कल’ भारतका लागि अर्थपूर्ण मानिएको छ।
पर्दा पछाडिको डैमेज कन्ट्रोल? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पको यो फोन कललाई एक प्रकारको ‘डैमेज कन्ट्रोल’का रूपमा विश्लेषण गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीच वार्ता गराउन आफ्नो देश तयार रहेको बताइरहँदा र इस्लामाबादमा वार्ताको सम्भावना बढ्दा, भारतमा यसले कूटनीतिक चिन्ता बढाएको थियो। आफ्नो रणनीतिक साझेदार भारतलाई ‘लूप’ मा राख्न र भारतको संवेदनशीलता बुझ्न ट्रम्पले यो पहल गरेको विज्ञहरूको बुझाइ छ।
होर्मुज जलसन्धि र ऊर्जा संकट दुई नेताबीचको कुराकानीको मुख्य केन्द्रबिन्दु ‘होर्मुज जलसन्धि’ (Strait of Hormuz) को सुरक्षा रहेको थियो। विश्वको झण्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने यो मार्ग युद्धका कारण असुरक्षित बन्दा भारतजस्ता आयातमा निर्भर देशहरू नराम्ररी प्रभावित भएका छन्। इरानले केही भारतीय ट्याङ्करहरूलाई जान अनुमति दिए पनि ऊर्जा संकट अझै टरिसकेको छैन। मोदीले वार्ताको क्रममा होर्मुजको सुरक्षा र विश्व शान्तिका लागि भारत सधैं तत्पर रहेको दोहोर्याउनुभएको छ।
भारतको सन्तुलित कूटनीति यो युद्धमा भारतले अहिलेसम्म निकै सन्तुलित नीति अपनाएको छ। एकातिर अमेरिकासँगको घनिष्ठ सम्बन्ध र अर्कोतिर इरानसँगको ऐतिहासिक र ऊर्जा व्यापारको सम्बन्ध— यी दुवैलाई सन्तुलनमा राख्नु भारतका लागि अहिले फलामको चिउरा चपाउनु सरह भएको छ। मोदी सरकारले इरान र खाडी देशहरूसँग पनि लगातार संवाद जारी राखेको छ।
अहिलेको परिस्थितिमा ट्रम्पको यो फोनले भारतलाई दक्षिण एसियाली राजनीतिमा आफ्नो प्रभाव कायम राख्न कत्तिको मद्दत पुर्याउँछ, त्यो भने आगामी दिनमा हुने कूटनीतिक गतिविधिले प्रष्ट पार्नेछ।

