Site icon Nmkhabar

मर्निङवाक निस्किँदै हुनुहुन्छ ? होसियार ! राजधानीमै आतंक मच्चाउने ‘खुँखार लुटेरा ग्याङ’ यसरी पर्‍यो फन्दामा

र्निङवाक निस्किँदै हुनुहुन्छ ? होसियार ! राजधानीमै आतंक मच्चाउने ‘खुँखार लुटेरा ग्याङ’ यसरी पर्‍यो फन्दामा

मर्निङवाकमा निस्किएका ८१ वर्षीय वृद्धदेखि राति अबेर हिँड्ने सर्वसाधारणसम्मलाई खुकुरी देखाएर लुट्ने राजधानीको एक ‘खुँखार’ संगठित गिरोह अन्ततः प्रहरीको फन्दामा परेको छ। देशको मुटु काठमाडौंमै महिनौंसम्म फिल्मी शैलीमा आतंक मच्चाउने यो समूहको पक्राउले नागरिकको सुरक्षा अवस्थामाथि भने गम्भीर झड्का दिएको छ।

प्रहरीको लामो अनुसन्धानपछि विनय तामाङको नेतृत्वमा रहेको १० सदस्यीय डाँका समूहलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा संगठित अपराधको मुद्दा दर्ता गरिएको छ। यस गिरोहमा फुर्वा, सलोन, पेमा, विशाल, आयन, सविन, विदुर विश्वकर्मा र राजीव भण्डारी संलग्न थिए। उनीहरूले गोकर्णेश्वरका ८१ वर्षीय रामभक्त श्रेष्ठसहित २० भन्दा बढी व्यक्तिलाई लुटिसकेका छन्। दिनभर रेकी गर्ने, साँझ योजना बुन्ने र राति वा बिहानीपख एकान्तमा हिँडिरहेकालाई खुकुरी देखाएर लुट्ने उनीहरूको शैली थियो।

यो गिरोहको सञ्जाल र कार्यशैली निकै डरलाग्दो र योजनाबद्ध थियो। लुटपाटपछि प्रहरीको रात्रिकालीन चेकिङबाट बच्न उनीहरू मोटरसाइकल छोडेर ट्याक्सी र प्राइभेट कारको प्रयोग गर्थे। लुटिएको सुन सिधै बजारमा नबेची गिरोहकै सदस्य विदुर विश्वकर्माले पगालेर डल्लो बनाएपछि मात्रै ज्वेलर्समा बेच्ने र पैसा बाँडफाँड गर्ने गर्थे। मुख्य नाइके विनय र राजीव यसअघि पनि चोरी मुद्दामा जेल परेर छुटेका ‘पाकेका’ अपराधी हुन्। जेलबाट छुटेकाहरूले नै फेरि यति ठूलो सञ्जाल बनाउनुले हाम्रो कानुन कार्यान्वयन र अनुसन्धान प्रणालीमाथि प्रश्न उठाएको छ।

यो घटनाले काठमाडौंमा बस्ने हरेक ‘भुइँमान्छे’ को मुटुमा ढ्याङ्ग्रो ठोकेको छ। स्वस्थ रहन बिहान ३-४ बजे मर्निङवाक निस्किने वृद्धवृद्धा हुन् वा रातिको ड्युटी सकेर फर्किने मजदुर— कोही पनि सुरक्षित छैनन् भन्ने डरलाग्दो सन्देश यसले दिएको छ। पसिना बगाएर जोडेको एकतोला सुन पनि बाटोमै लुटिने डरले आम नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार नै खोसिएको महसुस गराएको छ।

पक्राउ परेकाहरूमाथि अदालतमा थुनछेक बहस चलिरहेको छ। तर, एउटा गिरोह समातिँदैमा राजधानी सुरक्षित भयो त? प्रहरीले रात्रिकालीन गस्ती र सडकका सीसीटीभी निगरानीलाई पूर्ण रूपमा चुस्त नबनाउने हो भने यस्ता कैयौं गिरोहहरू अँध्यारो गल्लीमा जन्मिइरहनेछन्। नागरिक आफैँ पनि अब सुनका गहना लगाएर राति वा बिहान सबेरै एकान्तमा हिँड्नुअघि गम्भीर रूपमा सचेत हुनुपर्ने अवस्था आएको छ।

Exit mobile version