नेपाल र भारतबीच ‘क्रस बोर्डर पेमेन्ट’ सेवा कार्यान्वयनमा आएको छ। यो सम्झौताले दुई देशबीच अनलाइनबाटै व्यक्तिगत रकम ट्रान्सफरको ढोका खोलेको छ।
यो सेवाको सुरुवात केही निश्चित बैंक तथा वित्तीय संस्थाहरुबाट मात्र भएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार, सेवा सुचारु भएका वाणिज्य बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा कनेक्ट आईपीएस एपमार्फत भारतमा रकम पठाउन सक्नेछन्।
रकम ट्रान्सफरका लागि बैंकहरुले मोबाइल बैंकिङ एपमा ‘क्रस बोर्डर फण्ड ट्रान्सफर’ विकल्प थपेका छन्। रकम पठाउँदा बैंक खाता वा मोबाइल नम्बर जस्ता भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गर्नुपर्नेछ।
भारततर्फ पनि केही बैंकले यो सेवा सुरु गरेका छन्। नबिल बैंकले आफ्नो ‘एनबैंक’ एपमार्फत नेपाल-इन्डिया रियल-टाइम पीटुपी रेमिटेन्स सेवा सुरु गरिसकेको छ। यसबाट नबिल बैंकका ग्राहकले भारतमा रहेका परिवार वा साथीभाइलाई मोबाइल एपबाटै पैसा पठाउन सक्नेछन्। भारतबाट नेपालमा रहेका आफन्तलाई पनि नबिल बैंकमा रकम पठाउन सकिनेछ।
