श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले एक रुपैयाँ भ्रष्टाचार गर्ने आफ्ना प्रतिनिधिमाथि सार्वजनिक रूपमा मोसो दलेर जुत्ताको माला लगाउनुपर्ने बताएका छन्। आइतबार पाँचथरको फिदिम-१३ जेभालेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सुशासन र इमान्दारिताको आवश्यकतामा जोड दिए।
साम्पाङले राजनीतिलाई पूजा र आराधना मानेको बताए। देश निर्माणका लागि भाषण मात्र पर्याप्त नभई कोदालो बोकेर श्रम गर्नुपर्ने उनको भनाइ थियो।
‘हप्ताको ६ दिन पेट पाल्न श्रम गरौं, कम्तीमा एक दिन देशका लागि श्रमदान गरौं,’ उनले भने। ‘बजेट अभावमा काम रोक्ने प्रवृत्ति चिर्नुपर्छ। ५० लाख बजेटमा श्रमदानले डेढ करोडको विकास गराउने ग्यारेन्टी म लिन्छु।’
आफूलाई देशको सानो मान्छे बताउँदै साम्पाङले विचारले आकाश छुनुपर्ने तर्क गरे। उनले सिमाना मिचिएको विषयमा सरकार बोल्न नडराउनुपर्ने भन्दै प्रधानमन्त्री र सरकारको आलोचना गरे।
‘यही माटोमा जन्मिएका हौं, मर्दा पनि यही माटो चाहिन्छ। माटोको रक्षा गर्नु हाम्रो पहिलो धर्म हो,’ उनले थपे।
आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘माटो’ मा मतदान गर्न आग्रह गर्दै उनले कोशीमा श्रम संस्कृति पार्टीको दुईतिहाइ सरकार आवश्यक रहेको दाबी गरे।
‘हाम्रो पार्टीमा नेता कार्यकर्ता हुँदैनन्, हामी सबै श्रमदाता हौं। ऋण लिएर होइन, पाखुराको बलमा देश बनाउनुपर्छ,’ उनले भने।
कार्यक्रममा साम्पाङले स्थानीय ज्येष्ठ नागरिकबाट एक मुठी माटो उपहार ग्रहण गरे। उनले त्यसलाई आफ्नो सबैभन्दा ठूलो मायाको चिनो बताए।
