जिल्ला अस्पतालहरूले सामान्य अपरेशनका बिरामीलाई केन्द्रीय अस्पतालमा रेफर गरेमा कारबाही हुने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बताएकी छन्। अबदेखि साना तथा सामान्य प्रकृतिका अपरेशनका बिरामीलाई रेफर गर्न नपाइने व्यवस्था गरिएको छ।
मन्त्री मेहताका अनुसार ७७ वटै जिल्ला अस्पतालहरूसँग छलफल गरी यो निर्णय गरिएको हो। यसबाट ठूला अस्पतालहरूमा बिरामीको चाप बढ्ने समस्या समाधान हुने अपेक्षा छ।
नागरिकसँगको कुराकानीमा मन्त्री मेहताले भनिन्, ‘अबदेखि साना अपरेशनमा जथाभाबी रेफर गर्न प्रतिबन्ध लगाइसकेका छौँ।’
उनले जिल्ला अस्पतालहरूको सेवा र क्षमताको मापदण्ड कायम गरी अनावश्यक रेफर रोक्ने व्यवस्था गरिएको बताइन्।
वीर अस्पतालमा एक बिरामीको उपचार जिल्ला अस्पतालमै सम्भव भए पनि ठूलो अस्पतालमा रेफर गरिएको र बिरामीले हप्तौँ पालो कुर्नुपरेको उदाहरण दिँदै उनले भनिन्, ‘हाइड्रोशील, एपेन्डिक्स जस्ता साना अपरेशन जिल्ला अस्पतालमै हुन्छ, उनको रेफर अनावश्यक थियो।’
मन्त्री मेहताले साना शल्यक्रियाका बिरामीको उपचार जिल्ला अस्पतालमै भएमा केन्द्रीय तथा सङ्घीय अस्पतालहरूमा बिरामीको चाप स्वतः घट्ने र बिरामीले गुणस्तर तथा छरितो सेवा पाउने विश्वास व्यक्त गरिन्।
