काठमाडौं– कुमार थापा मगरले सानै उमेरमा ईश्वरी भुजेलसँग प्रेम विवाह गरेका थिए। केही समय सम्बन्ध सामान्य रहे पनि उनीहरू सम्बन्धविच्छेदको अन्तिम चरणमा थिए।
सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ का रूपमा चिनिने कुमारले युट्युब अन्तर्वार्ताहरूमा श्रीमतीबाहेक अन्य महिलासँग सम्बन्ध रहेको स्वीकार्दै आएका थिए। उनी विवादास्पद अभिव्यक्ति दिएर भाइरल भएका पात्र हुन्। ईश्वरी नेपाली सेनामा कार्यरत थिइन्।
शुक्रबार राति कुमारले फलामको रडले प्रहार गरी श्रीमती ईश्वरीको हत्या गरेको प्रहरीले जनाएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा ईश्वरीको मृत्यु भएको थियो।
घटनापछि माइती पक्षले भाइरल भिडियोमा देखिएकी ट्याक्सी चालक महिलामाथि अनुसन्धानको माग गरेका छन्। मृतक पक्षका आफन्तहरूले ती महिलाको घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताको आशंका गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
शनिबार बालाजु प्रहरी कार्यालयअगाडि भेला भएका परिवारका सदस्य र शुभेच्छुकहरूले घटनामा संलग्नमाथि कारबाहीको माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कवीन्द्र बुर्लाकोटी र पूर्वगृहमन्त्री सुधन गुरुङ पनि प्रहरी कार्यालय पुगेर दोषीलाई कारबाही गर्न माग गरेका थिए।
आफन्तका अनुसार कुमारले विगतमा जेठो छोरामाथि पनि दुर्व्यवहार र कुटपिट गर्दै आएका थिए। उनले आमा–छोरालाई धम्की दिने गर्थे।
सम्पत्ति बाँडफाँटमा कुरा नमिल्दा कुमारले ईश्वरीको हत्या गरेको बुझिएको छ। एक अन्तर्वार्तामा कुमारले आफूले कमाएर काठमाडौंमा बनाएको घरमा श्रीमती ईश्वरीले दाबी गरेको खुलाएका थिए। डिभोर्सको अन्तिम समयमा सम्पत्ति बाँडफाँटको कुरा नमिल्दा यो घटना भएको देखिन्छ।
यसअघि ईश्वरीले श्रीमानबाट असुरक्षित रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। तर, प्रहरीले आरोपी कुमारसँग हात मिलाएको तस्बिर सार्वजनिक भएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।
राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल (खतिवडा) ले ईश्वरीको हत्यालाई समाजको असफलताको रूपमा चित्रण गरेकी छिन्। उनले महिला घरभित्रै असुरक्षित हुनु सभ्य समाजका लागि गम्भीर चिन्ताको विषय भएको बताइन्। प्रत्येक महिलाले सम्मान, सुरक्षा र आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो।
मानव अधिकारकर्मी मोहना अन्सारीले समाजमा ईश्वरीजस्तै धेरै श्रीमतीहरूले श्रीमानबाट यातना भोग्न बाध्य भएको बताउँदै धम्की दिनेहरू अदालत र प्रहरीसम्म पुग्ने तर प्रमाणको अभावमा वा परिवारको दबाबमा मुद्दा कमजोर हुने गरेको अनुभव सुनाइन्।
