चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा अवरुद्ध भएको छ। यो सेवा ठप्प हुँदा स्थानीयवासी सञ्चारविहीन भएका छन्।
वडाध्यक्ष नुर्पु च्यावाले समस्या देखिएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताए। सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको उनको भनाइ छ।
इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीय सूचना आदानप्रदान, आफन्तसँग सम्पर्क र विभिन्न अनलाइन सेवा लिनबाट बञ्चित भएका छन्। सरकारी तथा वित्तीय सेवामा समेत यसले असर पारेको छ। सरोकार निकायले तत्काल सेवा सुचारु गर्नुपर्ने स्थानीयको माग छ।
किमाथाङ्का व्यापारिक, रणनीतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र हो। सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय, व्यवसायी र यात्रु प्रभावित भएका छन्।
दुर्गम हिमाली क्षेत्र भएकाले प्राविधिक समस्या समाधानमा समय लाग्न सक्ने अनुमान छ। स्थानीयले प्राविधिक टोली परिचालन गरी शीघ्र सेवा सञ्चालनको माग गरेका छन्।
