NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एसियाली खेलकुद छनोट: हङकङलाई १९ रनले हराउँदै नेपाल च्याम्पियन

एसियाली खेलकुद पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डिएलएस पद्धतिमा १९ रनले हराउँदै उपाधि जित्यो। वर्षाले खेल प्रभावित भएपछि पार स्कोरभन्दा अगाडि रहेको नेपाल विजयी भयो। कुशल भुर्तेलले ६५ रनको उत्कृष्ट अर्धशतक बनाए।
Prakash Gurung
Prakash Gurung
8 June 2026, 4:18 pm १ मिनेट पढाइ
आकार:
नेपाल हङकङ क्रिकेट
Share:

सिङ्गापुरको नेशनल क्रिकेट ग्राउन्डमा सम्पन्न एसियाली खेलकुद पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा १९ रनले पराजित गर्दै च्याम्पियनको उपाधि चुमेको छ। वर्षाले खेल सुचारु हुन नसकेपछि नेपाल डीएलएस पार स्कोरभन्दा अगाडि रहेर जित दर्ता गर्न सफल भयो।

१ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाएको अवस्थामा भारी वर्षा सुरु भएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै ४० बलमा ८ चौका र ३ छक्काको मद्दतले ६५ रनको सानदार अर्धशतकीय पारी खेले।

भुर्तेल आउट भएपछि क्रिजमा रहेका रोहित पौडेलले २४ बलमा ३५ रन र कप्तान दीपेन्द्र सिंह ऐरीले ४ बलमा ९ रन जोड्दै नेपाललाई सुरक्षित स्थानमा पुर्‍याएका थिए। नेपालको जवाफी ब्याटिङको सुरुवात धर्मराएको थियो। ओपनर आसिफ शेख पहिलो ओभरमै शून्य रनमा बोल्ड आउट भएपछि नेपालले ४० रनको स्कोरमा पहिलो विकेट गुमाएको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। हङकङका लागि ओपनर अन्सुमन रथले ४५ बलमा ८० रनको आक्रामक पारी खेलेका थिए भने साहिद वासिफले २८ बलमा ५५ रनको योगदान दिए।

नेपालका लागि बलिङतर्फ शेर मल्लले घातक बलिङ गर्दै ४ ओभरमा ३२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। अनुभवी बलर करण केसीले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे।

वर्षाका कारण खेल अवरुद्ध भएपछि अम्पायरहरूले डकवर्थ लुइस पद्धतिका आधारमा नतिजा घोषणा गरेका थिए। ११.३ ओभरको समाप्तिमा नेपालको पार स्कोर ९५ रन हुनुपर्नेमा नेपाल १ सय १४ रनको स्थितिमा थियो। पार स्कोरभन्दा १९ रनले अगाडि रहेकाले नेपाललाई विजयी घोषित गरिएको हो।

Prakash Gurung

Prakash Gurung

संवाददाता · NM Khabar

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार