NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाँकेमा असिनाले धानको बीउ नष्ट गर्दा किसान चिन्तामा

बाँकेमा जेठको अन्त्यसम्म पर्याप्त वर्षा नहुँदा धानको ब्याड राख्न ढिलाइ भएको छ। सिँचाइको अभावले आकाशे पानीको भरमा खेती गर्ने अधिकांश किसान प्रभावित भएका छन्। हालसम्म करिब ४० प्रतिशत किसानले मात्रै धानको बीउ राखेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
Kamala Devi
Kamala Devi
14 June 2026, 11:48 am १ मिनेट पढाइ
आकार:
बाँके धान खेती
Share:

बाँकेमा असिनाले धानको बीउ नष्ट गर्दा किसान चिन्तामा

जेठ महिनाको अन्त्यसम्म पनि पर्याप्त पानी नपरेका कारण बाँके जिल्लामा धानको ब्याड राख्न ढिलाइ भएको छ।

आकाशे पानीको भरमा धानखेती गर्ने अधिकांश किसानले अझैसम्म धानको ब्याड राख्न नपाएको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले बताए। सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसानहरू धान रोप्नका लागि आकाशको भर पर्नुपर्ने बाध्यत्मक अवस्थामा छन्।

धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल जस्ता कुराहरूको अभावले किसानहरू बर्सेनि समस्यामा पर्ने गरेको किसानहरूको गुनासो छ।

जिल्लाको जानकी गाउँपालिकाको साइगाउँ, बेलभार क्षेत्रमा पर्याप्त वर्षा नहुँदा किसानहरूले अहिलेसम्म धान रोप्न नसकेको जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए।

बाँकेमा सिँचाइ सुविधा पुगेका क्षेत्रमा र वैकल्पिक उपाय अपनाएर हालसम्म करिब ४० प्रतिशत किसानले मात्रै धानको बीउ राखेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले बताइन्। जिल्लामा करिब ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।

सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अझै आकाशे पानीकै भरमा धानखेती गरिरहेका छन्।

सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोज शाहका अनुसार धानको बीउ राख्ने समयलाई मध्यनजर गरी पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको छ। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको यस आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य लिएकोमा हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ पुगेको छ।

समयमा पानी नपर्दा र सिँचाइको अभावमा धानको ब्याड राख्न ढिलाइ हुँदा यस वर्ष बाँके जिल्लामा धान उत्पादनमा कमी आउने किसानहरूले चिन्ता व्यक्त गरेका छन्। यसले गर्दा खाद्यान्न सुरक्षामा समेत असर पर्न सक्ने अवस्था छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार