भारतले नेपाली चियामाथि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण इलामका सूर्योदय क्षेत्रका ५३ वटा चिया उद्योग असार १ गतेदेखि बन्द हुने भएका छन्। भारतीय बजारमा पुगेको ठूलो परिमाणको चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले जनाएको छ।
एसोसिएसनका अनुसार हाल भारतीय बजारमा तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका लागि रोकिएको छ। उद्योगभित्रै सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। बजारमा बिक्री नभएपछि र भण्डारण क्षमता भरिएपछि उद्योग बन्द गर्नुको विकल्प नभएको एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले बताए। किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरी तयारी चिया बनाए पनि बिक्री नहुँदा किसानलाई भुक्तानी दिन नसकिने अवस्था आएको उनको भनाइ छ।
सन् २०२६ मे १ देखि लागू भएको एसओपी अनुसार हरेक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्नेछ। प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्नेछ। नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ। यसले गर्दा उत्पादन भएको चिया बजारमा पुर्याउने बाटो बन्दजस्तै भएको उद्योगी गोपाल कट्टेलले बताए।
कट्टेलले भारतले विभिन्न प्राविधिक झन्झट सिर्जना गरेर नेपाली चिया रोकेको बताए। यसले उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। उनले नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने माग गरे। समयमै पहल नभए अर्बौं रुपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा रहेको उनले चेतावनी दिए।
सूर्योदय नगरपालिकामा २ हजार ९९५ चिया किसान आबद्ध छन्। यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको छ। यसबाट वार्षिक दुई करोड किलो हरियोपत्ती उत्पादन हुन्छ। उद्योग बन्द हुँदा हजारौँ किसान प्रभावित हुनेछन्।
सूर्योदय नगरपालिकाले भारतीय अवरोध खुलाउन तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ। कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टमाथि भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमूना संकलन र परीक्षण गर्न थालेको छ। आधा दर्जनभन्दा बढी ट्रकबाट नमूना संकलन भएको एक साता बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएकाले बिक्री वितरण पूर्ण रोकिएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ। यसको ९० प्रतिशतभन्दा बढी भारतमा जाने गरेको छ। वार्षिक सवा ४ अर्बभन्दा बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतया इलाम, पाँचथर र धनकुटामा उत्पादन हुन्छ।
