नेपाल राष्ट्र बैंकको हालैको अध्ययनले मुलुकको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थको उपलब्धता र उत्पादित वस्तुको बजारको कमी प्रमुख समस्या रहेको औंल्याएको छ। पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिको पछौटेपन, उद्योगको पूर्ण क्षमतामा सञ्चालन नहुनु, जनशक्ति पलायन र पर्यावरणमैत्री उद्योग व्यवस्थापन पनि चुनौती हुन्।
औद्योगिक पूर्वाधार निर्माणलाई गति दिनु, उत्पादन र उत्पादकत्व बढाउनु, कच्चा पदार्थको उचित प्रबन्ध गर्नु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु र निर्यातजन्य वस्तुको विविधीकरण गर्नु यस क्षेत्रका महत्वपूर्ण चुनौती हुन्। केन्द्रीय बैंकको ‘चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन’ अनुसार कर्णाली प्रदेशका उद्योग पुँजी अभाव र बजारीकरणको समस्या खेपिरहेका छन्।
वैदेशिक रोजगारीमा गइरहेका युवाहरूका कारण प्राविधिक सीपयुक्त जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण छ। न्यून औद्योगिक पूर्वाधारका आधारमा वैदेशिक लगानी आकर्षित गरी पुँजी व्यवस्थापन गर्नु, उत्पादित वस्तुको लागत र गुणस्तर सुधार गरी आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पनि कठिनाई हो। सुदूरपश्चिम प्रदेशमा भारतसँगको खुला सीमानाका कारण भन्सार छली र अवैध पैठारी नियन्त्रण गरी स्थानीय उत्पादन र औद्योगिक गतिविधि प्रवर्द्धन गर्नु अर्को चुनौती हो।
उद्योग सञ्चालनका लागि आवश्यक दक्ष र प्राविधिक जनशक्तिको अभाव, कमजोर पूर्वाधार, निर्यातयोग्य वस्तुमा विविधीकरणको कमी, न्यून उत्पादकत्व र निर्यात क्षमता पनि कमजोर छन्। स्वदेशी वस्तुको उत्पादन लागत बढी हुनु, कमजोर औद्योगिक पूर्वाधार र स्थानीय स्रोतसाधनको सदुपयोग हुन नसक्नु पनि चुनौती हुन्।
यद्यपि, अध्ययनले मुलुकको औद्योगिक क्षेत्रमा उल्लेख्य सम्भावना रहेको देखाएको छ। जलविद्युत् उत्पादनमा भइरहेको विस्तार, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिएको छ। कृषि उपज, जडिबुटी, खानीजन्य पदार्थको सम्भाव्यताले उद्योग क्षेत्रको विकासको प्रशस्त सम्भावना देखाउँछ। सूचना प्रविधिको प्रयोगसँगै सफ्टवेयर विकास, आईटी सेवा र आउटसोर्सिङ उद्योगको विकासको सम्भावना पनि उच्च छ।
सरकारी निकायमा स्वदेशी उत्पादनको प्रयोग, निजी क्षेत्रसँग सहकार्य, सहज बैंकिङ पहुँच, न्यून ब्याजदर, लगानीयोग्य रकमको उपलब्धता, बढ्दो सहरीकरण र डिजिटल प्रविधिको प्रयोगले औद्योगिक उत्पादन विस्तारको सम्भावना बढाएको छ।
मधेस प्रदेशमा कृषिमा आधारित उद्योग, खाद्य प्रशोधन, चिनी, दुग्ध, तेल, चामल र पशु आहार उद्योग विस्तारको सम्भावना छ। धार्मिक, सांस्कृतिक सम्पदाले समृद्ध यस प्रदेशमा होटल, हस्तकला, धार्मिक सामग्री, मिथिला कला र पर्यटनसँग सम्बन्धित उद्योगहरूको विकास गर्न सकिनेछ। बढी जनघनत्वका कारण सस्तो श्रम उपलब्ध हुने भएकाले यहाँ उद्योग स्थापना गरी उत्पादन बढाएमा कुल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढ्ने देखिन्छ।
बागमती प्रदेशमा कृषि तथा पशुपालनमा आधारित उद्योग, जडिबुटी प्रशोधन, साना र मझौला उद्योग स्थापना गर्न सकिनेछ। अधिक तरलता र न्यून ब्याजदरको फाइदा लिई कर्जा उपयोग गरेमा औद्योगिक उत्पादन र रोजगारी बढ्नेछ। विदेशबाट फर्किएका युवाहरूको सीपअनुसार व्यवसाय सञ्चालनलाई प्रोत्साहन गर्न सकिनेछ।
गण्डकी प्रदेशमा ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ जस्ता अभियानमार्फत कानुनी सुधार, सडक, विद्युत, प्रसारण लाइन र इन्टरनेटजस्ता पूर्वाधार विकासले नयाँ आधार तयार पार्नेछ। स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिँदा उत्पादन वृद्धि हुनेछ। कृषि क्षेत्र, स्थानीय स्रोतसाधन र सीपमा आधारित औद्योगिक उत्पादनमा जोड दिएर निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न सकिनेछ।
