काठमाडौं । वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्न ऐन संशोधन र नीतिगत सुधारको तयारी भइरहेको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यो जानकारी दिएका हुन्।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा बोल्दै मन्त्री यादवले मन्त्रालयको ८० प्रतिशत काम वैदेशिक रोजगारीकै समस्या समाधानमा केन्द्रित रहेको बताए। मन्त्रालयमा आउने उजुरी र गुनासा अधिकांश यही क्षेत्रका हुने भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो।
‘हामीले वैदेशिक रोजगार ऐन संशोधन गरेर प्रणाली सुधार गर्ने निर्णय गरेका छौँ,’ मन्त्री यादवले भने, ‘यसले आन्तरिक रोजगारी विस्तारमा पनि सघाउ पुग्नेछ।’
मन्त्री यादवले युवा बेरोजगारी देशको प्रमुख चुनौती भए पनि युवा नै सबैभन्दा ठूलो सम्भावना भएको बताए। अवसर, लगानी, बजार र आत्मविश्वासको कमीले युवा पछि परिरहेको उनको भनाइ थियो।
‘हाम्रो ठूलो समस्या युवा बेरोजगारी हो, तर नेपालको सबैभन्दा ठूलो सम्भावना पनि युवा नै हुन्,’ उनले भने।
उनले उद्यमीहरूलाई राष्ट्र निर्माणको अग्रपङ्क्तिमा रहेको भन्दै धन्यवाद दिए। सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने उल्लेख गर्दै उनले निजी क्षेत्र र उद्यमीहरूलाई मुख्य आधार माने।
‘तपाईंहरूले केवल आफ्नो व्यवसाय मात्र चलाउनु भएको छैन, अरूका लागि रोजगारी सिर्जना पनि गरिरहनुभएको छ,’ उनले भने।
सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने भन्दै उनले रोजगारी सिर्जनाको मुख्य शक्ति निजी क्षेत्र नै रहेको बताए। ‘युवालाई जागिर खोज्ने होइन, अवसर पहिचान गर्ने बनाउनु आवश्यक छ,’ उनले थपे।
मन्त्री यादवले युवालाई उद्यमशीलतामा जोड्न सरकार प्रतिबद्ध रहेको बताए। बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कानुन निर्माणमार्फत नवप्रवर्तन र रोजगारीका अवसर बढाउने लक्ष्य पनि सरकारको छ।
