NM Khabar 21 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अनेरास्ववियू (क्रान्तिकारी)द्वारा सरकारका निर्णयको विरोध, शिक्षा–स्वास्थ्य कर खारेज गर्न माग

नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सरकारका पछिल्ला निर्णयको विरोध गरेको छ। संगठनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर तत्काल खारेज गर्न माग गरेको छ।
Rohan Tamang
Rohan Tamang
19 July 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
अनेरास्ववियू क्रान्तिकारी विरोध
Share:

नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सरकारका पछिल्ला निर्णयको विरोधमा आवाज उठाएको छ। संगठनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर तत्काल खारेज गर्न, राष्ट्रिय स्वाधीनतासँग जोडिएका विषयमा पुनर्विचार गर्न र नाम्गेल स्कुल बन्द गर्न माग गरेको छ।

संगठनका उपाध्यक्ष डीबी बुढाथोकी र महासचिव उषाकिरण आजाद कामीद्वारा आइतबार जारी प्रेस वक्तव्यमा सरकारले शिक्षा, स्वास्थ्य, राइड सेयरिङ तथा विद्युत् सेवामा कर लगाएर विद्यार्थी र आमजनतामाथि आर्थिक भार थपेको आरोप लगाइएको छ। वक्तव्यमा शिक्षा र स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क बनाउन पनि सरकारसँग माग गरिएको छ।

यसैगरी, संगठनले नेपालको एक चीन नीति विपरीत दलाई लामाको जन्मदिन मनाउन अनुमति दिएको भन्दै त्यसको विरोध गरेको छ। उक्त कार्यक्रमसँग सम्बन्धित नाम्गेल स्कुल बन्द गर्न सरकारसँग माग गर्दै माग पूरा नभए संगठन आफैँले उक्त स्कुल बन्द गर्ने चेतावनी दिएको छ।

सरकारले प्रचलनमा ल्याउने सिक्काबाट नेपालको नक्सा हटाउने निर्णयलाई राष्ट्रहित विपरीत भन्दै तत्काल फिर्ता लिन पनि माग गरिएको छ। सुकुमबासीलाई घरबारविहीन बनाउने नीति अपनाइएको आरोप लगाउँदै उनीहरूको उचित व्यवस्थापन र सुकुमबासी विद्यार्थीको अध्ययन-अध्यापन सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।

सरकार गठन भएको एक सय दिनभित्र चार जना युवाले आत्मदाह गरेको उल्लेख गर्दै त्यसप्रति राज्य जिम्मेवार हुनुपर्ने र पीडित परिवारको उचित व्यवस्थापन गर्नुपर्ने माग पनि वक्तव्यमा गरिएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार