देशभरका मुख्य राजमार्गहरूमा लगातारको वर्षासँगै आएको बाढी र पहिरोले आवागमन नराम्ररी प्रभावित पारेको छ। नेपाल प्रहरीका अनुसार उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू अवरुद्ध छन्।
कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन्। केही ठाउँमा एकतर्फी मात्र सवारी साधन सञ्चालनमा छन्। केही सडकमा निश्चित समय तोकेर यातायात सुचारु गरिएको छ।
बागमती प्रदेशमा पृथ्वी राजमार्गको धादिङ खण्डमा पहिरोले समस्या निम्त्याएको छ। बेनीघाट रोराङ–७ कृष्णभिर र गजुरी–२ चालीसेमा सडक पूर्ण रूपमा बन्द छ। गजुरीकै परेवाभिर र बेनीघाट रोराङको ज्वाङखोलामा एकतर्फी यातायात चल्छ। चन्द्रागिरि–२ चिसापानीमा खसेको पहिरोले काठमाडौँ–धादिङ सडक एकतर्फी मात्र खुला छ।
काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा बाढीको जोखिमले १० टन सम्मका मालवाहक सवारीसाधन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र चल्न पाउँछन्। अन्य सवारीसाधन बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालनमा छन्।
रसुवाको उत्तरगया–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक बाढीले पूर्ण रूपमा बन्द गराएको छ। प्रहरीका अनुसार अवरोध खुल्न लामो समय लाग्नेछ। रसुवाको मुख्य राजमार्ग पनि बाढीले ठप्प छ।
नुवाकोटको शिवपुरी–८ घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक छ। पासाङ ल्हामु राजमार्गअन्तर्गत नुवाकोटको बेत्रावतीस्थित सिमटारमा सडक पूर्ण रूपमा अवरुद्ध छ।
लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पहिरोले आवागमन रोकेको छ। रोल्पाको परिवर्तन–३ भालखोरमा खसेको पहिरोले सहिद राजमार्ग पूर्ण रूपमा बन्द छ।
कर्णाली प्रदेशमा चार मुख्य सडक खण्ड ठप्प छन्। मुगुको छायाँनाथ रारा–४ ताल्चास्थित मुगु–गमगढी सडक अवरुद्ध छ। कालिकोटको शुभकालिका–१ गगने खोला र खाँडाचक्र–७ र ८ स्थित रातो पहाडमा खसेको पहिरोले कर्णाली राजमार्ग ठप्प छ।
सुर्खेतको बराहताल–७ औलिसेस्थित कर्णाली राजमार्ग र सल्यानको कपुरकोट–४ आरीडंगाले फेदीमा खसेको पहिरोले राप्ती राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरी विवरणमा उल्लेख छ।
