NM Khabar 28 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

म्याग्दीमा पहिरो: तीनको मृत्यु, दुईको हेलिकप्टरबाट उद्धार

म्याग्दीमा निरन्तरको वर्षाले गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा दुई जना र बेनी नगरपालिका-३ भकिम्लीमा एक जनाको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका-३ दानाको फगाममा पहिरोमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत जीवितै उद्धार गरिएको छ।
Kamala Devi
Kamala Devi
27 September 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
म्याग्दी पहिरो
Share:

म्याग्दीका विभिन्न स्थानमा आइतबार गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। पहिरोमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा गएको पहिरोमा ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव भेटिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले यो पुष्टि गरे।

बेनी नगरपालिका-३ भकिम्लीको छेपारेमा पहिरोले घर पुरिँदा अन्दाजी ३५ वर्षीया कुमारी वली विकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले विकको शव निकालिएको जानकारी दिए।

अन्नपूर्ण गाउँपालिका-३ दानाको फगाममा स्थानीय गङ्गाबहादुर पाइजाको घर पहिरोले पुरेको छ। यहाँ फसेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमा पुगेको सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ। उद्धार गरिएका दुवै जनालाई बेनी ल्याउन लागिएको छ।

मालिका गाउँपालिका-३ औंलामा पनि पहिरोमा पुरिएका नागरिकहरूको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।

सडक र पैदलमार्ग अवरुद्ध भएकाले अन्नपूर्णका पहिरो प्रभावित बस्तीहरूमा नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्रीसहित सुरक्षाकर्मीको टोली पठाउन लागिएको छ।

बिहीबारदेखिको निरन्तर झरीका कारण म्याग्दीभर सडक सञ्जाल र विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ। टेलिफोन तथा इन्टरनेटजस्ता सञ्चार सेवासमेत प्रभावित भएपछि जिल्लामा विपद् व्यवस्थापन र उद्धार कार्यमा थप कठिनाइ भइरहेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार