महाकाली नदीमा पानीको बहाव १ लाख ७५ हजार ७०० क्युसेक पुगेको छ। यसले कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल-भारत आवागमन ठप्प पारेको छ। भारतीय पक्षले करिब १०० वर्ष पुरानो शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारी रोकेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिमका कारण ठूला सवारी रोक्ने गरेको बताए। सुदूरपश्चिमका पहाडी जिल्ला र भारतीय क्षेत्रमा लगातारको वर्षाले महाकालीमा बहाव बढेको हो। रावतका अनुसार तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।
भारी वर्षाले जनधनको क्षति रोक्न दुई दिनदेखि कञ्चनपुरबाट चल्ने लामो दूरीका सवारीसाधनमा पनि रोक लगाइएको छ। महेन्द्रनगर र बेलौरीबाट काठमाडौं, पोखरा जाने यात्रुवाहक बस ठप्प छन्।
महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टले शुक्रबारयता लामो दूरीका बस नचलेको बताए। उनले छोटो दूरीका सवारी चले पनि पहाडी जिल्लामा पठाइएको छैन। पहाडमा पहिरोको उच्च जोखिम छ।
