पर्साको वीरगञ्जमा सुरु भएको जनमत पार्टीको दोस्रो महाधिवेशनबाट डा. सीके राउत निर्विरोध अध्यक्षमा निर्वाचित हुने निश्चित भएको छ।
वीरगञ्जको ओम पार्टी प्यालेसमा जारी महाधिवेशनमा दुई हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलका अनुसार, अध्यक्ष पदमा डा. चन्द्रकान्त (सीके) राउतको मात्र एकल उमेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुनेछन्।
नयाँ केन्द्रीय कार्यकारिणी समिति चयनका निम्ति कुल १०३ जनाको मनोनयनपत्र दर्ता भएको छ। यसअघि असोज ९ र १० गतेका लागि तय भएको महाधिवेशन भारी वर्षा र बाढीपहिरोको जोखिमका कारण स्थगित गरी असोज १७ गतेका लागि सारिएको थियो।
जनमत पार्टी नेपालमा राष्ट्रिय पार्टीको रूपमा स्थापित छ र सन् २०२२ को आम चुनावपछि नेपालको आठौं ठूलो पार्टी हो। पार्टीको केन्द्रीय समितिमा डा. सीके राउत केन्द्रीय अध्यक्ष, ई. बसन्त कुमार कुशवाहा, ई. नरेन्द्र प्रसाद चौधरी, श्री नरसिंह चौधरी र डा. जय कान्त राउत केन्द्रीय उपाध्यक्ष तथा श्री चन्दन कुमार सिंह केन्द्रीय महासचिव रहेका छन्।
महाधिवेशन आइतबार असोज १८ गते सम्पन्न हुने अपेक्षा गरिएको छ। अध्यक्षबाहेकका अन्य पदहरूमा प्रतिस्पर्धा हुने र नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गरिनेछ।
