NM Khabar 17 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विराटनगर अस्पतालमा मृतकको शवबाट सुन चोरी, प्रहरी अनुसन्धानमा

विराटनगरको ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी सबिना दनुवारको शवबाट सुनका मुन्द्रा चोरी भएको छ। आफन्तले भिडियो प्रमाण देखाएपछि अस्पतालले एक तोला सुन बराबरको रकम क्षतिपूर्ति स्वरूप तिरेको छ। मोरङ प्रहरीले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान थालेको छ।
Sanjay Karki
Sanjay Karki
17 May 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
अस्पताल सुन चोरी, विराटनगर घटना
Share:

विराटनगरको ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी सबिना दनुवारको शवबाट सुनका मुन्द्रा चोरी भएको छ।

उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सबिना दनुवारले विष सेवनपछि जेठ १ गते अस्पताल भर्ना भएकी थिइन्। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो।

मृत्यु घोषणा हुनुअघि ईसीजी गर्ने बहानामा पर्दा लगाएर सबिनाको दुवै कानमा रहेको एक तोला बराबरको मुन्द्रा चोरी भएको परिवारको दाबी छ। सुन हराएपछि आफन्तले विरोध जनाए।

सुरुमा अस्पताल प्रशासनले सुन हराएको कुरालाई अस्वीकार गरेको थियो। तर, आफन्तले उपचारकै क्रममा खिचिएको भिडियो प्रमाण देखाएपछि अस्पताल पछि हट्न बाध्य भयो। भिडियोमा मृतकको कानमा मुन्द्रा स्पष्ट देखिएको थियो।

सीसी क्यामेरा फुटेजमा समेत शङ्कास्पद गतिविधि देखिएपछि अस्पतालले सुन हराएको स्वीकार गर्‍यो।

प्रहरीको उपस्थितिमा भएको छलफलपछि अस्पताल प्रशासनले दोषी कर्मचारीमाथि छानबिन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारलाई एक तोला सुन बराबरको चेक उपलब्ध गराएको छ।

यद्यपि, अस्पतालका सञ्चालक कृष्ण खवासले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्।

मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले अस्पताल परिसरमा मृतकबाट गहना हराएको विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार