चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा ५.७ प्रतिशतले मात्र बढ्दा घरजग्गा क्षेत्रको कर्जा ३.५ प्रतिशतले ऋणात्मक भएको छ, जबकि आयात प्रकृतिको कर्जा ३२ प्रतिशतले उकालो लागेको छ।
गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ मात्रै थप कर्जा प्रवाह भएको छ। यससँगै, चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जा रकम ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार, ट्रस्ट रिसिप्ट अर्थात् आयात प्रकृतिको क्षेत्रमा सबैभन्दा उच्च दरले कर्जा बढेको छ। आयातकर्ता तथा व्यापारीलाई सामान बिक्री गर्दासम्म दिइने यो अल्पकालीन कर्जा ३२ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म यस्तो कर्जा १ खर्ब २५ अर्ब १८ करोड रुपैयाँ थियो।
विपरीत दिशामा, घरजग्गा (रियल इस्टेट) क्षेत्रमा प्रवाह भएको कर्जाको वृद्धिदर भने ३.५ प्रतिशतले ऋणात्मक देखिएको छ। चैत मसान्तसम्म यस क्षेत्रमा कुल २ खर्ब ६६ अर्ब ३७ करोड रुपैयाँ कर्जा गएको छ, जुन गत असार मसान्तको २ खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँभन्दा कम हो।
घरजग्गाको कारोबार र मूल्य प्रभावित हुँदा यस क्षेत्रको कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ। यद्यपि, ३ करोड रुपैयाँसम्मको आवासीय घरकर्जा भने बढेको छ।
आवासीय कर्जा चैत मसान्तसम्म ४ खर्ब ५८ अर्ब ७५ करोड रुपैयाँ प्रवाह भएको छ, जुन असार मसान्तसम्म ४ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ थियो। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आवासीय कर्जाको सीमा २ करोडबाट ३ करोड पुर्याइएकाले यस क्षेत्रमा कर्जा वृद्धि भएको हो।
