काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली नार्केमा लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। सोमबार बिहान करिब ४ बजे वर्षाका कारण पहिरो खसेको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
यसैगरी, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक कटान गरेपछि अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ।
लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्ग पनि पूर्ण रुपमा अवरुद्ध बनेको छ।
प्रहरीले यात्रा गर्दा सुरक्षा सावधानी अपनाउन र बाटोको जानकारी लिएर मात्र यात्रामा निस्कन सुझाव दिएको छ।
