वैदेशिक रोजगार विभागको गुनासो तथा उजुरी व्यवस्थापनका लागि ujuri.dofe.gov.np नामक अनलाइन प्रणाली सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यसको शुभारम्भ गर्दै अब पीडितहरूले काठमाडौं धाउनुपर्ने बाध्यता हटेको बताए।
यो प्रणालीमार्फत मुद्दा, अनुसन्धान, राहत र उद्धारसम्बन्धी संस्थागत उजुरी दर्ता गर्न सकिनेछ। विदेशमा रहेका श्रमिकले समेत अनलाइनमार्फत उजुरी दर्ता गरी कारबाही प्रक्रियाबारे जानकारी लिन सक्नेछन्।
“तपाईं विदेशमा हुनुहोस् वा नेपालकै कुनै कुनामा, सरकार तपाईंको साथमा छ। न्यायका लागि अब काठमाडौं धाइरहनु पर्दैन, आफ्नै हातमा भएको मोबाइलबाट उजुरी दिन र न्यायको प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ,” मन्त्री यादवले भने।
वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गरी श्रमिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
साउन १ गतेदेखि पूर्ण रूपमा लागू भएको यस प्रणालीमार्फत चार दिनमा १४ वटा उजुरी दर्ता भइसकेको छ। विभागका अनुसार, अनलाइन उजुरी पेश गरेपछि विभागको टोलीले अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनेछ। उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जानेछ।
सेवाग्राहीले सन्देशमा उपलब्ध गराइएको ‘ट्रयाकिङ कोड’ प्रयोग गरी जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्नेछन्।
निरीक्षण तथा शुभारम्भ कार्यक्रममा वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य र मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेलगायत सहभागी थिए।
